जेनिश बोहरा डोटी बहुमुखी क्याम्पसका लागि एक चिरपरिचित नाम हो । उनले ह्वाइट पार्क कलेज डडेल्धुराबाट अमिनको पढाइ पूरा गर्नुका साथै शिक्षाशास्त्र संकायअन्तरगत स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । उनी भन्छन् अहिले विद्यार्थी नेताहरू माउ पार्टीका असली कार्यकर्ता भएका छन् । डुङ्गामुडा बन्द हड्ताल आन्दोलनजस्ता गतिविधिमा मात्रै सक्रिय छन् । म यी कुरालाई सिर्जनात्मक कर्ममार्फत चिर्न चाहाँन्छु । यस अवस्थामा बोहरा भन्छन् विद्यार्थी नेताहरू विद्यार्थी हकहितका भन्दापनी माउ पार्टीका गतिविधिमा बढी सक्रिय छन् । विद्यार्थीका यस्ता गतिविधिले शैक्षिक क्षेत्र धमिलो बनेको छ । शिक्षाको गुणस्तर खस्किदो अवस्थामा छ । वास्तविक विद्यार्थीहरू आफ्ना हकहित पाउनबाट बन्चित भएका छन् । म वास्तविक विद्यार्थीका हकहित स्थापित गर्नका लागि क्याम्पसको शैक्षिक अवस्था सुधार गर्नका लागि सधै अग्रपंक्तिमा भएर लाग्ने संकल्पसहित विद्यार्थी राजनीतिमा आएको हुँ बोहरा भन्छन् । त्रिभुवन विश्व विद्यालयले चैत ५ गते स्ववियु चुनावको मिति तोकेको छ । यसै सन्दर्भमा त्रिभुवन विश्व विद्यालय अन्तरगत डोटी बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन हुदैछ । यहीँ सन्दर्भमा विद्यार्थीहरू चुनावी प्रचार प्रचारमा छन् । क्याम्पसको विद्यार्थी माझमा कुनै नयां नाम होइन जेनिस । नेपाल विद्यार्थी संघ डोटी बहुमुखी क्याम्पसको इकाई सभापतिसमेत रहेका बोहरा विद्यार्थी माझ अत्यन्तै लोकप्रिय छन् । राजनीति र सामाजिक क्षेत्रमा छोटो समयमै राम्रो प्रभाव जमाउन सफल नेता हुन् । पढाइमा अब्बल, मिलनसार स्वभाव भएका कारण विद्यार्थीसंग राम्रो सम्बन्ध बनाउन सफल भएका जेनिस बोहरा डोटीको धिर्गामण्डौमा वुवा हिराबहादुर बोहरा र आमा इस्सरादेबि बोहराको कोखबाट जन्मिएका हुन् । बोहरा बोगटान फुडसिल ५ का स्थायी बासिन्दा हुन् । उनी सानैदेखि अन्याय अत्याचार सहन नसक्ने, सामाजिक कार्यमा सधै अग्रसर हुने छवि बनाएका ब्यक्ति हुन् । अहिले उनी चैत ५ गते हुन गइरहेको स्ववियु चुनावमा नेपाल विद्यार्थी संघका तर्फबाट डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापतिका उम्मेदवार छन् । प्रस्तुत छ सभापतिका उम्मेदवार बोहरासंग गरिएको कुराकानीको सम्पादित अंश ।
-पढ्ने, लेख्ने उमेरमा राजनीति आउनु भयो नी ?
निश्चित रूपमा भन्ने हो भने प्रत्येकको अभिभावकको चाहना हुन्छ छोरा पढि लेखि ठुलो भएर राम्रो जागीर गरोस् सुखी साथ बसोस भन्ने हुन्छ तर मेरो चाहाना राजनीतिमार्फत समाजमा केही न केही गर्नुपर्छ । म समाजमा चन्द्रमा हुन नसके पनि चम्किने तारा बन्न सकुँ भन्ने मनसायले राजनीतिमा आएको हुँ । राजनीतिसंगै पढाइलाई पनि निरन्तरता दिन्छुँ ।
-तपाई राजनीतिमा शुरूवात कसरी भयो र राजनीति किन आउनु भयो ?
मेरो राजनीतिको शुरूवात स्कुल लेबलदेखि नै भएको हो मलाई आदरणीय दाजु प्रबिन उपाध्यायले राजनीतिको बाटो देखाउनु भएको हो उहाँले नै मलाई २०७४ सालमा नेविसंघ दर्जाकोट माविको इकाई अध्यक्ष बनाएर राजनीतिमा पाइला चाल्न सिकाउनु भएको हो भने म समाज रुपान्तरण गर्नका लागि र विद्यार्थी राजनीतिमार्फत देशको शैक्षिक अवस्था सुधार गर्नका लागि राजनीतिमा आएको हुँ ।
-यसैसन्दर्भमा तपाईं डोटी बहुमुखी क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार हुनुहुन्छ । तपाईको उम्मेद्वारी किन ?
हो निस्चय नै म स्ववियु सभापतिको उम्मेदवार छु । मेरो उम्मेदवारी किनभने यो क्याम्पस नेपाल कै एक इतिहास भएको,पश्चिम नेपालको गौरव बोकेको क्याम्पस हो । यस क्याम्पसले थुप्रै प्रशाशक नेता र देशका उच्च ओहदामा पुग्ने ब्यक्तिहरू जन्माएको छ । हिजोको तुलनामा क्याम्पसको शैक्षिक अवस्था कमजोर भएको देखिन्छ । म क्याम्पसको शैक्षिक अवस्था सुधार गर्न चाहान्छु । क्याम्पसबाट उत्पादित जनशक्तिलाई क्याम्पससंग जोड्न चाहान्छु । मसङ्ग ठुलठुला आश्वासन र सपना छैनन् क्याम्पसमा स-साना थुप्रै समस्याहरू छन् ती समस्याहरू समाधान हुन सकेका छैनन् । ती समस्याहरुको समाधान गर्न मेरो उम्मेदवारी हो । म उम्मेदवार हुंदा या नहुंदा यहांका विद्यार्थीसंगसंगै छु । विद्यार्थीको सेवक हुं सधै सेवक बन्न चाहन्छु त्यसकारण पनि मेरो उम्मेदवारी रह्यो अर्को कुरा मैले मात्र चाहेर उम्मेदवार भएको होईन स्ववियु सभापतिमा हाम्रो संगठनका थुप्रै अग्रज दाजुहरू हुनुहुन्थ्यो तर क्याम्पस रहेका अधिकाश विद्यार्थीको रोजाईको पात्र भएकालेे नेताहरुले मलाई विश्वास गरेर पठाउनु भएको छ त्यो विश्वास म मर्न दिने छैन । खासमा विद्यार्थीको हकहितमा र विद्यार्थीको सेवक भएर काम गर्न नै मेरो उम्मेदवारी हो ।
-अहिले मतदातासंग भोट मागिरहनु भएको छ । कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
विद्यार्थीहरू निकै उत्साहीत हुनुहुन्छ । यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु हामीले यो गरेउ त्यो गरेउ भन्ने तर विद्यार्थीको समस्या समाधान नगरिदिने, चुनाव मात्रै आउँदा क्याम्पस आउने विद्यार्थी संगठन र तिनका नेताहरूशीत विद्यार्थी केही रुष्ट देखिएको मैले पाएँ । समग्रमा धेरै समय पछि स्ववियु निर्वाचन हुँदा विद्यार्थी उत्साहित छन् । विद्यार्थीहरू भन्नू हुन्छ अरुभन्दा केही गर्न सक्ने, हिजो पनि क्याम्पसमा विद्यार्थी हकहितका विषयमा बोल्दै आएको केही गरौं भन्ने हुटहुटी भएको विद्यार्थी तपाईं हो, आउनुस भनेर स्वागत गर्नु भएको छ । विद्यार्थी साथीहरू दाजु दिदीहरूले भौतिक नैतिक राजनैतिक हरेक दृष्टीकोणबाट सहयोग गरिरहनु भएको छ । प्रायः धेरै जसो विद्यार्थीहरूले मतदान गरि जिताउछौं भन्ने प्रतिवद्धता पाएको छु त्यसले म पनि उत्साहीत छु । म जुन जुन विद्यार्थीहरू कहाँ पुगेको छु ती विद्यार्थी साथीहरू दाजु दिदीहरूले मप्रति विश्वास र सहानुभूती दुवै प्रकट गर्नु भएको छ ।
-तपाईलाई विद्यार्थीले किन जिताउने ?
मलाई विद्यार्थीहरूले किन जिताउने भन्नु हुन्छ भने म क्याम्पसमा हिजोदेखि विद्यार्थीका समस्याका विषयमा बोल्दै आएको विद्यार्थी हुँ। र आगामी दिनमा विद्यार्थीका हक अधिकार स्थापित गर्न, क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्न यी र यस्तै तमामौ समस्याहरूको सामाधान स्थापित गर्न, क्याम्पसको शैक्षिक गुणस्तर कायम गर्न यी र यस्तै तमामौ समस्याहरूको सामाधानका लागि,मैले र हाम्रो संगठनले राखेका संकल्प प्रस्तावलाई मन पराएर विद्यार्थीले आफ्नो मताधिकार प्रयोग गरेर मलाई जिताउनु हुन्छ । मैले वोलेको कुरा पुरा गर्छु त्यो कुरा सवैलाई थाहा भएको कुरा हो झुठो, उधारो आश्वासन दिदैन वोलेको कुरा पुरा गर्छु । मतदाता सामु गरेका प्रतिवद्धताहरु पुरा गर्छु त्यसैलाई आधार मानेर मतदाताहरुले मलाई अनुमोदन गर्नुहुनेछ । मलाई विश्वास छ, मेरो जीतसंगै क्याम्पसको शैक्षिक अवस्थामा सुधारका लागि काम गर्ने छुँ ।
-निर्वाचन जित्ने आधारहरु के के छन् ?
जित्ने आधार भनेकै मलाई बिश्वास गर्ने तमामौ मतदाता साथीभाइहरू दाजु दिदीहरू हुनुहुन्छ । उहांहरुले मत दिनु भएरै निर्वाचित हुने हो । म प्रत्यक्षरूपमा विद्यार्थीको हकहितमा बोल्दै आएको, क्याम्पसको नियमित अध्ययनरत विद्यार्थी हुं । मेरा जित्ने थुप्रै आधार छन् । पहिलो आधार हो म नियमित अध्ययनरत विद्यार्थीका समस्यालाई लिएर हिजोदेखी नै बोल्दै आएको विद्यार्थी हु,दोश्रो आधार हो मप्रतिको आशा,बिश्वास र विद्यार्थीको वा मतदाताको लहर, तेस्रो आधार हो मेरो ब्यक्तिगत छ्बी, चौथो आधार हो गठबन्धनप्रती विद्यार्थीको बितृष्णा, यिनै आधारले जित्ने आधार सुनिश्चित भएको छ । जितेको अनुभूती गरेको छु । अगाडि नै हाम्रो संगठनको जितको शुनिश्चितता देखेर प्रस्तिस्प्रधी साथीहरूले एक्लै चुनाव लड्न हिम्मत गर्नु भएन ।
-मतदाता सामु के कस्तो प्रतिवद्धता जनाउनु भएको छ ?
मतदाता सामु धेरै ठुला आश्वासन छैनन् । म स साना कामहरू गर्नेछु । मैले विद्यार्थीका समस्यालाई समेटेर क्याम्पसको समग्र शैक्षिक अवस्था सुधार गर्नका लागी मेरा केही संकल्प प्रस्तावहरू छन् जुनलाई बुदागत उल्लेख गर्न चाहान्छु ।
१. विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्नका लागि टर्मिनल एक्जामको लागि पहल गर्छु ।
२. प्रत्येक संकायमा उत्कृष्ट अन्क ल्याउने विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्तिको ब्यवस्थापन गर्छु ।
३. नियमित पढनपाठनका लागि शिक्षक र विद्यार्थी दुबैलाई जिम्मेवार बनाउन निश्चित नियम बनाई अगाडि बढ्छु ।
४. क्याम्पसको पुस्तकालयमा सरल सहज ढङ्गले पुस्तक उपलब्ध हुने बाताबरण मिलाउन पहल गर्छु ।
५. विशेष गरी छात्रवासमा रहेको खानेपानी, जालिसहितको ढोका र पंखाको अभावलगायतका समस्यालाई समाधान गर्छु ६. कार्यतालिका बनाई अतिरिक्त क्रियाकलाप र विद्यार्थीको शैक्षिक अवस्था बलियो बनाउन निरन्तर मूल्यांकनमा जोड दिएर काम गर्छु ।
७. शिक्षण प्रक्रिया प्रबिधिमैत्री बनाउनका लागि पहल गर्छु ।
८. कम्तिमा दुई महिनाको एक पटक उच्च ओहदामा भएका ब्यक्तिहरू संग विद्यार्थीहरूको अन्तकृया कार्यक्रम राख्नेछु । जसका कारण विद्यार्थीलाई प्ररेणा प्राप्त होस् ।
९. स्नातकोत्तर तहमा पढ्ने दाजु दिदीहरूले भर्ना, प्रवेश परिक्षा र परिक्षाको फर्म बाहिर इन्च्युट्बाट भरी रहेको हुँदा अब यी काम BCA अध्ययनरत विद्यार्थीहरूमार्फत क्याम्पसबाटै गर्ने व्यवस्था गर्नेछु ।
१०.नेविसंघको पहल कदमीमा भएको सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५% छुट यहाँका यातायात व्यवसायले दिदैनन यसका लागि ठोस र कडा रुपमा पहल गर्छु ।
११. क्याम्पसको मातहतमा रहने गरि उत्कृष्ट अंक ल्याउने अनुशासित, गरिब जेहेन्दार विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्तिको ब्यबस्थापन गर्न अक्षयकोसको स्थापना गर्नेछु ।
-निर्वाचित भएपछि विद्यार्थीको सेवक भएर काम गर्नु हुन्छ भन्ने कसरी मतदाताहरुले विश्वास गर्ने ?
म विद्यार्थीहरुकै सेवक हुं । म क्याम्पसमा आएदेखि यहांका विद्यार्थी संगसंगै सुखदुःख साट्दै आएको छु । म निर्वाचित भएपनि नभए पनिसंगै रहन्छु । विद्यार्थीको गुनासोलाई सम्वोधन गर्न, सम्बन्धित निकायसंग अग्रसर भएर उभिन्छु ।
-अन्तमा केही भन्नू छ ?
तपाईंलाई धन्यवाद छ मेरा तितामिठा बिचार महत्त्वपूर्ण समयमा राख्न दिनु भएकोमा । अनि सम्पूर्ण विद्यार्थी मतदाताहरूलाई मलाई र मेरो सम्पूर्ण टिमलाई मतदान गरि क्याम्पसको समग्र बिकासमा उभिन हार्दिक अनुरोध गर्दछु
