-शाहिदा शाह/नेपालगञ्ज
बुर्काभित्र र बुर्काबाहिर स्तम्भमा समय सान्द्रभिक मुद्दाहरुमा चर्चा गरिदैं आइरहेको कुरा सर्वविदित नै छ । आजभोलि हाम्रो समाजमा पनि पश्चिमी प्रेम दिवसको निकै प्रभाव पारिरहेको देखिन्छ । हजुर यहां हामी कुरा गर्दैछौं सात दिवसीय प्रेम सन्दर्भ अर्थात भेलेन्टाईन दिवस र त्यसले गर्दा व्यक्तिको नीजि जीवन र समाजमा पर्दै गरेका नकारात्मक असरको बारेमा । यो लेख खास गरी महिला दिदीबैनीलाई सचेत गराउने आशयले लेखिएको छ । आजभोलिको चारदिने प्रेम जसको न त भविष्य छ वास्तविक जीवनमा न औचित्य कुनै नै । यही चार दिनको चान्दनी वाला प्रेमका कारण दिदीबैनीहरु आफ्नो अभिभावकलाई समाज सामु शिर ठाडो पारेर हिड्न नसक्ने गराउंछिन् । आफ्नो अभिभावकले दिएको संस्कार सभ्यता र शिक्षालाई जुत्ताले खुल्चेर आफ्नो प्रेमको धुनमा यति अगाडि बढिहाल्छिन् कि फर्किने बाटो नै बाकी रहदैन् कि आत्महत्या कि भ्रुणहत्या बाहेक कुनै अर्को उपाय नै हुदैंन् ।
प्रेम गर्नु कुनै पाप होईन् तर अनैतिक ढंगले प्रेम गरी कसैको जीवन बर्बाद पार्नु चाहिं महापाप नै हो । प्रेमको अनेक रुप र परिभाषा छन् ।
प्रेम त अनमोल हुन्छ निस्वार्थ हुन्छ प्रेममा कुनै स्वार्थ हुदैन् । सच्चा प्रेम पाउन कुनै शुल्क वा सामान दिनुपर्दैन् । निस्वार्थ प्रेमलाई न किन्न सक्छ कसैले न बेच्न सक्छ । अब हेर्नुस् त कसरी एउटा काडां र गुलाफ बीच प्रेम हुन्छ ।जसले गुलाफलाई काडां भइकन सुरक्षा प्रदान गरिरहेको हुन्छ । एक आमाले आफ्नो बच्चासंग गर्ने प्रेमको कुनै सीमा, मुल्य र तुलना हुनै सक्दैन् । एक पत्नीले पतिसंग र पतिले पत्नीसंग पनि प्रेम गरी एक अर्काको सुखदुखमा साथ दिने गर्छन् । एउटा शिक्षकले विद्यार्थीहरु संग प्रेम गरी आदर्श शिक्षा दिने गर्छ । एउटा कुमालले माटोसंग प्रेम गरी उसलाई जीवन दिन्छ । एउटा सैनिकले आफ्नो कर्तव्यसंग प्रेम गरी देशको रक्षाका लागि ज्यानको बलिदान दिने गर्छ ।
मानव जीवनको भावनात्मक शब्द हो । तर, जसलाई परिभाषित गर्न सकिदैन् । यो त अनुभव मात्र गर्न सकिन्छ ।मानिस मानिस पिच्छे उमेर र सम्बन्ध अनुसार प्रेमको रुप फरक हुन्छ । । प्रेमको चर्चा र आवश्यकता त सबैले महसुस गर्छन् तर यसलाई बुझ्न सक्ने कमै हुन्छन् ।
भनाइको अर्थ प्रेमका अनेक रुप र परिभाषा छन् जसलाई केही विद्वानले आ आफ्नो ढंगले परिभाषित गरेकाछन् । महात्मा गान्धीले भनेका छन् ‘प्रेमले बलिदान सिकाउँछ हिसाब सिकाउँदैन,प्रेमले मस्तिष्कलाई होइन, हृदयलाई छुन्छ ।’ ओशोले भनेकाछन् ‘अन्तिमसम्मै गहिरिएर प्रेम गर्नु भनेको पागलपन हो ।’ खलिल जिब्रानले भनेका छन् ‘प्रेमले जीवनमा ताजापन ल्याउँछ ।’ गौतम बुद्धले भनेकाछन् ‘प्रेम मानवताको दोश्रो नाम हो । प्रेम गर्नु नै जीवनको खुसी हो ।’
इस्लामले प्रेमलाई यसरी परिभाषित गरेछ ‘आमाको प्रेमको मुल्यांकन गरी स्वर्गनै पैताला मुनि राखिदियो, पत्नीलाई प्रेम गर्दा पुण्य प्राप्त हुने , छोरीलाई प्रेम गरी उसलाई राम्रो शिक्षा दिलाएर राम्रो घरमा बिहे गरेर पठाए छोरीले नर्कको आगोबाट बचाउने अर्थात इस्लामले मेहरमसंग प्रेम गर्ने अनुमति दिएछ र मेहरमसंग गर्ने प्रेमको सट्टा नेकी भनिएछ । त्यही इस्लाममा पैचोमा आधारित रहेको गैर मेहरम बीच हुने प्रेमलाई चाहे महिला होस् वा पुरुष यदि उसले प्रेम गर्छ। भने त्यस्तो प्रेमलाई नाजायज र प्रेमले हदै पार गरे जिनाकारी अर्थात वेश्यावृत्ति भनिन्छ । यस्तो पैचोवाला प्रेमलाई गुनाह भनिएछ । ’ वास्तवमा भन्ने हो भने प्रेमले विश्वास, त्याग, अपन्तव, मानवता र सहकार्य आदिको पाठ सिकाउंछ नाकि कसैको जीवन नर्क बनाउने ।
सामाजिक परिवेश
हाम्रो समाजमा जसरी पश्चिमी प्रेम दिवसको प्रभाव परिरहेछ । यसरी नै यो बढ्दै गयो भने आउने दिनमा यस बारे विचार गरिएन् भने संकटको सामना गर्नुपर्ने हुन्छ जसको हामीले कहिले कल्पना समेत गर्न सकेका छैनौं । यो सात दिवसीय प्रेम जुनकि आकर्षणबाट सुरु भइ कुराकानी, भेटघाट उपहार लेनदेन देखि यसको अन्त गर्धनिरोधक पिल्स सम्म मात्र हुन्छ । सुन्दा अलि पिरो नै लाग्ला केही मोर्डन विचारधारा राख्ने भनाउंदाहरुलाई तर यथार्थ यही नै हो । जुन प्रेम आकर्षणबाट सुरु हुन्छ, त्यो क्षणिक हुन्छ । जुन कुराले आकर्षित गरेको थियो त्यो प्राप्त हुन साथ आकर्षण खत्तम प्रेम लुप्त भएर जान्छ । यस्तै जुन प्रेम उपहार र सेवा सुविधा लोभ देखाएर प्राप्त हुन्छ । त्यो प्रेम पनि यथावत र घनिष्ठ हुदैंन् । हां क्षणिक आनन्द र खुशी मिल्छ होला तर स्थायित्व हुदैन् यस्ता पैचोवाला प्रेममा । यी पैचोमा आधारित रहेका लुकेर गरिने प्रेमलाई सभ्य समाजले स्वीकार गर्दैन् त्यो देश,धर्म,जाति र समुदाय जति नै आधूनिक र मोर्डन किन न भइजाओस् । यसलाई अनैतिक सम्बन्ध नै भन्दोरहेछन् आज पनि हरेक समाजमा । थाहा यस्ता प्रेमको असर के हुन सक्छ ।
वेलेन्टाइन डे अर्थात सात दिन सम्म फरक फरक कुराको लेनदेनमा आधारित प्रेम दिवस जुनकि अविवाहित जोडा बीच हुने गर्छ । पहिलो दिन फेब्रुअरी ७ तारीख रोज डे जसमा प्रेमी प्रेमिकाले गुलाब लिने दिने गर्छन्। दोस्रो दिन फेब्रुअरी ८ तारीखका दिन प्रोपोज डे जसमा प्रेमी प्रेमिकाले एक अर्कालाई प्रेम प्रस्ताव राख्ने गर्छन् । तेस्रो दिन फेब्रुअरी ९ तारीख चकलेट डे जसमा प्रेमी प्रेमिकाले एक अर्कालाई फकाउनका लागि चकलेट लिने र दिने गर्छन् । चौथो दिन फेब्रुअरी १० तारीख टेड्डी डे जसमा प्रेमी प्रेमिकाले अझ् बढी फकाउन टेड्डी वियर जस्ता उपहार लिने दिने गर्छन् । पाचौं दिन फेब्रुअरी ११ तारीख प्रोमिस डे प्रेमी प्रेमिका कहिल्यै नछुट्ने सधैं साथ रहन एक अर्कासंग बाचा बचन गर्छन् । फेब्रुअरी १२ तारीखका दिन हग डे जसमा प्रेमी प्रेमिकाहरु एक अर्कालाई फकाउन सफल भइसकेपछि अंगालो हाल्छन् । फेब्रुअरी १३ तारीख किस डे जसमा यतिका उपहार दिइसकेपछि फकाइकन अंगालो हालिसकेपछि त्यसको प्रतिफल स्वरुप प्रेमी प्रेमिकाले एक अर्कालाई किस गर्ने गर्छन् । किनकि यिनका लागि उपहारको लेनदेन अंगालो हालाहाल गरीसकेपछि अब चुम्बन गर्न त अधिकार नै ठान्दछन् । अनि अन्तमा आंउछ सातौ दिन फेब्रुअरी १४ तारीख वेलेंटाइन डे, वेलेन्टाइन डे अर्थात दुबैको सहमतिमा अभिभावकले गरेको विश्वास, सभ्यता, अस्मिता, संस्कार , मान मर्यादा, र मावनताको निर्मम हत्या गरिने दिन हो । यो दिन के गर्छन् भनी भन्नु पर्दैन् होला तर गरीसकेपछि के परिणाम हुन्छ त्यस बारे चर्चा अवश्य नै गरिनेछ ।
वेलेन्टाइन मनाउने अविवाहित जोडाले सबै मर्यादालाई नाघेर काम त सबै विवाहितले गर्नु पर्ने गरिहाल्छन् । अब परिणाम यो हुन्छ कि प्रेमिकाले बाध्यतावश गर्व निरोधक पिल्स सेवन गर्नुपर्छ । तर त्यो निरोधकले केटीको जीवन जुन प्रलय र विनाश ल्याउनेछ त्यस बारे उसले आफै समेत गरेकी हुदैंन् । थाहा छ बर्थ कंट्रोल वा गर्भनिरोधक पिल्स सेवन गर्नले शरीरभित्र ऑव्यूलेशन बन्द भइहाल्छ । जब ऑव्यूलेशन नै हुदैंन् भने अण्ड उत्पादन हुदैंन् । अण्ड उत्पादन हुदैन् भने स्पर्मसंग फर्टिलाइज हुने डरै हुदैंन् भनाइको अर्थ गर्भ रहने खतरा हुदैंन् । तर यसले तत्कालीन सृजना गर्ने समस्याका रुपमा रजस्वला गडबडी, बान्ता हुने, निरन्तर टाउको दुखाइ वा माईग्रेन, शरीरको तौलमा घटबढ हुने, डन्टिफोर आउने आदि हुन् । भने दीर्घकालिन रुपमा सृजना गर्ने समस्याहरुमा फोक्सोमा रगत जम्ने, हृदयाघात, उच्च रक्तचाप, स्तन क्यान्सर र पाठेघर र पाठेघरको मुखको क्यान्सर जस्ता रोग निम्तियाउने खतरा रहेको हुन्छ । यति मात्र कहां हो र यसको अधिक सेवनले कब कति खेर सन्तान उत्पादन गर्ने क्षमता नै ह्रास भइसकेको हुन्छ र आफु बांझोपनको सिकार भएको थाहै हुदैंन् । अनि विवाह गरी गएको घरमा वंश अगाडि बढाउने जिम्मेवारीबाट बन्चित भइन्छ ।
यतिका खतरा मोलिदैं गर्भ निरोधक चक्की सेवन गरीकन गरेको प्रेमको चिनो , प्रेम निसानी दुर्भाग्यवश गर्भमा आइहाल्यो भने प्रेमी आफ्नो झोलाझम्टी लिएर फुर्ररर भइहाल्छ वा उसैमाथि चरित्रहीन हुने आरोप लगाएर आफु बरी भइहाल्छ अथवा समाज र परिवारको दुहाई दिनेछ कि यो नासो समाज र परिवारले विवाह पुर्व स्वीकार गर्दैन् भनी । अब समाज समाज त समाज नै हो, र समाज त छ, बस्नु त समाजमै छ प्रेमीले जिम्मा नलिएपछि आफुलाई परिवार र समाजको आरोप,आक्रोश र बदनामीबाट बचाउनका लागि जन्मेको त्यो अबोध बच्चालाई फोहोरमा फालिन्छ अनि यो वेलेन्टाइनीया प्रेमको अन्त हुन्छ ‘सट्टाको प्रेम बट्टामा’ ।
