काठमाडौं,२७ कात्तिक । अष्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् ।
फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार पौने २ बजे सुरु हुनेछ ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको थियो।
दुवै पूर्व विजेता हुन् भने तेस्रो पटक टी–२० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् ।
यस पटक जो च्याम्पियन बनेपछि दुई पटक टी–२० विश्वकप जित्ने वेष्ट इन्डिजको कीर्तिमान बराबरी गर्नेछ ।अहिलेसम्म ७ पटक टी–२० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् ।
फाइनलअघि पाकिस्तान र इंग्ल्याण्डका मुख्य खेलाडी लयमा फर्कुन दुवै टोलीका लागि सुखद छ । पाकिस्तान र इंग्लयाण्डका दुवै ओपनरले सेमिफाइनलमा अर्धशतक प्रहार गरे ।
पाकिस्तानको अलराउण्डर शदाब खानको प्रदर्शन मद्तवपूर्ण हुनेछ भने फकर जमन घाइते भएपछि टिममा समावेश युवा ब्याटर मोहम्मद ह्यारिसले पछिल्ला तीन खेलमा आक्रमक ब्याटिङ गर्दै आएका छन् ।
शाहिन शाह अफ्रिदीको नेतृत्वमा रहेको हरिस राउफ, नसिम शाह र मोहम्मद वासिमको पेस बलिङ अट्याक विपक्षीका लागि घातक बन्न सक्छ ।
उता इंग्ल्याण्डका लागि टप अर्डरका बलटर र हेल्ससहित अलराउण्ड स्टोक्स लयमा छन् । साम करन, क्रिस वोक्स र मार्क उड पेस बलिङमा छन् भने स्पीनमा आदिल रसिदलाई मोइन अली र लिया लिभङस्टोनले सघाउने छन् ।
सेमिफाइनलमा पहिलो खेल खेलेका ब्याटर फिल साल्टले ब्याटिङ गर्न पाएका छैनन् । फाइनलमा डेविड मालान र फिल साल्ट मध्ये एक खेल्नेछन् ।
इंग्ल्याण्डको ब्याटिङ गहिराई छ भने पाकिस्तानको बलिङ अट्याक उत्कृष्ट छ। त्यसैले फाइनल खेललाई इंग्ल्याण्डको ब्याटिङ भर्सेस पाकिस्तानको बलिङ भन्न मिल्नेछ ।फाइनल हुने स्थान मेलवर्नमा वर्षाको सम्भावना भएकोले फाइनल खेललाई पनि असर गर्ने सम्भावना छ।
फाइनल खेलको लागि सोमबार रिजर्भ डे पनि राखिएको छ । फाइनल खेल सम्भव भएसम्म आइतबार नै सम्पन्न गर्ने प्रयास हुनेछ । यदी खेल सोमबारका लागि सरेमा आइतबार जित खेल खेलिएको छ त्यहीबाट सोमबार खेल सुरु हुने आईसीसीले जनाएको छ ।
यस्तै फाइनल खेल डिएल मेथडमा पूरा हुन पनि कम्तीमा दुवै टोलीले १०–१० ओभर खेल्नुपर्ने प्रतियोगिताको नियममा राखिएको छ।
यस्तो छ दुई टिमको फाइनल यात्रा
१, पाकिस्तान
सन् २००९ को च्याम्पियन पाकिस्तान सुपर १२ को पहिलो खेलमै चीर प्रतिद्वन्द्व भारतसँग अन्तिम बलको थ्रिलरमा पराजित भयो । दोस्रो खेलमा जिम्बावेसँग अप्रत्यासित रुपमा १ रनले स्तब्ध भएपछि पाकिस्तान सुपर १२ बाटै बाहिरिने खतार बढेको थियो ।
तर त्यसपछि पाकिस्तानले नेरल्याण्ड्सविरुद्ध जितपछि लय लियो । दक्षिण अफ्रिकामाथि शानदार जित निकाल्दै पाकिस्तानले सेमिफाइनलको आशा जविति राख्यो ।
अझ नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई स्तब्ध पारेपछि पाकिस्तानले मस्ट विन गेममा बंगलादेशलाई हराएपछि सेमिफाइनलमा स्थान बनायो ।
सुपर १२ को पाँच खेलमा जम्मा ३९ रन मात्र बनाएका ओपनर कप्तान आजामको लय पाकिस्तानको लागि चिन्ताकै विषयको रुपमा थियो । तर, सेमिफाइनलमा बाबर र विकेटकिपर मोहम्द रिजावनको ओपनिङ जोडीले शतकिय साझेदारी गर्दै न्युजिल्याण्डलाई ७ विकेटले हराउन मद्त गरे ।
पाकिस्तानको नतिजा
भारतविरुद्ध ४ विकेटले पराजित
जिम्बावेविरुद्ध १ रनले पराजित
नेदरल्याण्ड्सविरुद्ध ६ विकेटले विजयी
दक्षिण अफ्रिकाविरुद्ध ३३ रनले विजयी
बंगलादेशविरुद्ध ५ विकेटले विजयी
सेमिफाइनलमा न्युजिल्याण्ड विरुद्ध ७ विकेटले विजयी
२, इंग्ल्याण्ड
जस बटलर युगको इंग्ल्याण्डले पहिलो खेलमा अफगानिस्तानलाई ११२ रनमा रोक्दै जित निकाल्यो । रन बनाउन केही संघर्ष गरेपनि जितसहित प्रतियोगिताको सुरुवात गर्दै उपाधि दाबेदारको रुपमा आफुलाई अगाडि बढाएको थियो ।
तर, दोस्रो खेल वर्षाले प्रभावित भएपछि इंग्ल्याण्ड छिमेकी आयरल्याण्डसँग डकवर्थ लेविस प्रणालीको आधारमा ५ रनले स्तब्ध बन्यो । वर्षाकै कारण अष्ट्रेलिया विरुद्धको खेल टस नभई रद्ध भएपछि इंग्ल्याण्डको खातामा ३ खेलबाट जम्मा ३ अंक थियो ।
यस्तो अवस्थामा जोस बटलर र एलेक्स हेल्सले अर्धशतक प्रहार गरेपछि इंग्ल्याण्डले अपराजित न्यजिल्याण्डलाई पहिलो हार चखायो । त्यसपछि स्टार अलराउण्ड बेन स्टोक्सको संयमित ब्याटिङमा श्रीलंकालाई ४ विकेटले हराएपछि इंग्लयाण्डले सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।
सेमिफाइनलमा कप्तान जोस बटलर एलेक्स हलेस चम्कँदा इंग्ल्याण्डले भारत विरुद्धको खेल एकपक्षीय शैलीमा जितेको थियो ।
इंग्ल्याण्डको नतिजा
अफगानिस्तानविरुद्ध ५ विकेटले विजयी
आयरल्याण्डविरुद्ध ५ रनले पराजित (डीएल प्रणाली)
अष्ट्रेलियाविरुद्धको खेल रद्ध
न्युजिल्याण्डविरुद्ध २० रनले विजयी
श्रीलंकाविरुद्ध ४ विकेटले विजयी
सेमिफाइनलमा भारत विरुद्ध १० विकेटले विजयी
