काठमाण्डौ/विजया दशमी कलाकारले धुमधामसँग मनाएका छन् । अभिभावकबाट बडादशैँको टीका ग्रहण गरेका तस्बिरहरू कलाकारहरूले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
नेपालको पहिलो अभिनेत्री भुवन चन्दले श्रीमान् माइकल चन्दको हातबाट टीका ग्रहण गरेपछि परिवारका अन्य सदस्यलाई पनि टीका लगाइदिएकी छिन् । यस्तै अभिनेता हरिवंश आचार्यले स्व। श्रीमती मीरा आचार्यको तस्बिर राखेर पत्नी, छोरा र बुहारीलाई टीका लगाइदिएका छन् ।
यसैगरी अभिनेता अनमोल केसीले पिता तथा अभिनेता भुवन केसीको हातबाट टीका र जमरा थापेपछि आशीर्वाद लिएका छन् ।अभिनेत्री सुहाना थापाले बुबा सुनिलकुमार थापा र आमा झरना थापाबाट टीका ग्रहण गरेकी छिन् ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले बुवाबाट, अभिनेता तथा निर्देशक निर्मल शर्माले आमाबाट र अभिनेता जितु नेपालले आमाको हातबाट टीका ग्रहण गरेका छन् । यस्तै आमाबाट टीका र जमरा ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै हास्यकलाकार शिवशङ्कर रिजालले दशैँको शुभकामना दिएका छन् ।