धनगढी, १८ साउन । मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट शंकास्पद २ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
नेपाल एयरलाइन्सका प्रवक्ताका अनुसार नियन्त्रणमा लिइएका २ जना मुम्बई जाने तयारीमा थिए। उनीहरु श्रीमान् र श्रीमतीका रहेको र कुनै आतंकवादी संगठनमा संलग्न रहेको भन्ने सूचना कैलाली प्रहरीले सीआईबीलाई पठाएको थियो।
कैलाली प्रहरीको सूचना पाएपछि ढोका बन्द भएर उड्न लागेका बेला सीआईबीले जहाज रोकेको थियो। बुधबार काठमाडौंबाट १ः १० मा मुम्बई उड्नुपर्ने नेपाल एयरलाइन्सको न्यारोबडी आरए ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भएको थियो। अब सो जहाज उड्न कम्तीमा २ घण्टा लाग्ने बताइएको छ।