काठमाडौँ, ११ साउन । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ।
उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ। विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ। सिम लिइसकेपछि स्टुडेन्ट रेजिस्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट स्टार१६००ह्यासमा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति ९विक्रम सम्वत० उल्लेख गर्नुपर्दछ।
उक्त स्टुडेन्ट रेजिस्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ। यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ।
यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याक समेत उपलब्ध गराइएको छ। यस प्याकमा रु। ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ।
विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रेजिस्ट्रेसन प्याक उपयोग गर्नको लागि प्रयोग गरिरहेको मोबाइलबाट ८३ मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ। त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ र स्टुडेन्ट रेजिस्ट्रेसन प्याकअनुसारका सुविधाहरु प्राप्त गर्न सकिनेछ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८ रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन्। त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ। हाललाई यो अफर तीन महिनासम्म उपलब्ध हुनेछ।