धनगढी, ११ साउन । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा बिग्रेका, भत्किएका, सामान्य वर्षाले डुबानमा परेका सडकको वडा अध्यक्ष गजेन्द्र शाहले अनुगमन गरेका छन् । वडा अध्यक्ष शाहले सो विषयमा स्थानीयसंग छलफल गरेका छन् ।
वडा नम्बर ५ को अन्मिन चोकदेखि तारानगर जाने सडक सामान्य वर्षा हुँदा समेत डुबानमा पर्दै आएको छ । सडक जलमग्न भएपछि सो सडक भएर हिड्डुल गर्नेले सास्ति व्यहोर्दै आइरहेका छन् । वडा अध्यक्ष शाहीले सडक डुबान हुनबाट बचाउन तत्काल ग्राभेल गरेर आवागमन सहज बताउने प्रतिवद्धता गरे । उनले सडकको अवस्थाबारे अनुगमन गरेपछि सो प्रतिवद्धता जनाएका हुन् । डेढ दशकअघि निर्माण भएको सो सडक जिर्ण अवस्थामा रहेको छ ।
यस्तै, साउन ४ गतेको वर्षाका कारण भत्किएको वडा नम्बर ५ र ४ जोड्ने पुलको तत्काल मर्मत सम्भार गर्ने वडा अध्यक्ष शाहले जनाएका छन् । यातायात कार्यलयको उत्तरतर्फ रहेको सो पुलको पूर्वतर्फ वर्षाले क्षति पुगाएको छ । बोराडाडी–हसनपुर जोड्ने सो पुलमा दैनिक ठूलो संख्यामा सवारी साधान गुड्ने गर्दछन् । तर, पुलको एकातर्फ भत्किएकाले दुर्घटनाको उच्च जोखिम छ । मंगलबार सोही भत्किएको ठाउँमा सरकारी गाडि खसेको थियो ।