धनगढी, १० साउन । कञ्चनपुरका एक वडाध्यक्ष मापसे गरेकाले एक रात प्रहरी थुनामा बसेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महरालाई प्रहरीले एक रात थुनामा राखेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडाध्यक्ष महरालाई सोमबार राति थुनामा राखी मंगलबार बिहान छोडिएको हो। उनी मापसे गरी अनियन्त्रित अवस्थामा रहेकाले उनलाई इलाका प्रहरी कार्यालय झलारीमा हिजो राति राखिएको प्रहरीले बताए । इलाका प्रहरी कार्यालयको अगाडि उपद्रो मच्चाइरहेको अवस्थामा वडाध्यक्ष महरालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।
उनले इप्रकाको गेटमा स्थानीसँग विवाद गरिरहेको भिडिओ पनि सार्वजनिक भएको छ। नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनी २०७४ सालको स्थानीय चुनावमा पनि जितेका थिए। उनले आफ्नो वडालाई मदिरा निषेधित क्षेत्र पनि घोषणा गरेको बताइएको छ।