धनगढी,३ साउन । धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा विवाद भएको छ । वडा अध्यक्ष भागिराम चौधरीको कार्यशैली प्रति असन्तुष्टि जनाउंदै स्थानीयले विरोध गरेका छन् । अध्यक्ष निर्वाचित भएपछि बडाका सूचना सार्वजनिक नगरी जनतालाई सूचना पाउने अधिकारबाट बन्देज गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।
मटियारी टोलका भल्मन्सा खुसिराम चौधरीले वडा अध्यक्ष भागिराम चौधरीले एकलौटी ढंगले काम गर्न खोजेको आरोप लगाए । वडा अध्यक्ष चौधरीले स्थानीय एक जना ब्यक्तिलाई फाईदा हुने गरी वडाको जमीन मिचेर २० फिटको बाटो बनाएको उनको आरोप छ । वडालाई दिर्घकालिन असर पर्ने गरी वडाको जमिनमा पर्खाल लगाएको उनले बताए । स्थानीयले सो कामको बिरोध गर्दा अध्यक्षले कुनै प्रतिक्रिया नजनाई काम गरेको उनले गुनासो पोखे ।
भैरब बाबा विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष बिख्रु रानाले वडाको भवन निर्माण गर्न बिद्यालयले जग्गा दिने निर्णय गरेको बताए ।समितिका अध्यक्ष चौधरीले भने, ‘तर, अध्यक्ष चौधरीले विद्यालयले दिएको भन्दा बढि जमिन मिचेर पर्खाल लगायकाले बिरोध गरेका हौं । जमिन मिचेर लगाएको पर्खाल भत्काएर पूर्व सहमती बमोजिम काम नगरेसम्म बिरोेध जारी रहने छ ।’
वडा अध्यक्ष चौधरी वडामा निर्वाचित भएर आइसके पछि एकलौटी ढंगले काम गर्ने गरेको आरोप लगाउँदै स्थानीयले अध्यक्ष चौधरीले आफ्नो कार्यशैली सच्याउनुपर्ने माग गरे ।
वडा अध्यक्ष चौधरीले भने आफुले कुनै गल्ती नगरेको बताए । कतिपय स्थानीयहरु कुरा नबुझि आफ्नो विरोधमा उत्रिएको अध्यक्ष चौधरीले बताए ।