काठमाडौं ५, असार । शुक्रबारदेखि दीपेन्द्र के खनालको निर्देशित फिल्म चिसो मान्छे प्रदर्शन भइरहेको छ। फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ‘ओपनिङु‘ गरेको छ।
दोस्रो दिन, शनिबार फिल्मले ६२ लाख ७५ हजार रूपैयाँ कमाएको छ।
वितरक करण क्रेजीका अनुसार फिल्मले दुई दिनमा झन्डै एक करोड ४ लाख (एक करोड तीन लाख ७५ हजार) रूपैयाँ कमाएको छ।
‘चिसो मान्छे’ एउटा यात्रा कथा हो। फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्याउँदाको कथा समेटिएको छ।
शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ।
उनीहरूसँगै फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाल लगायत कलाकारको अभिनय छ।
निर्देशक खनालले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।
