महेन्द्रनगर ३, असार । हिन्दू धर्मावलम्वीहरुले पिपलको बोटमा चढ्नै असहज मान्छन् । काट्ने कुरा त धेरै परको हो । तर, महेन्द्रनगरका एक शिक्षकले विद्यालय प्राङ्गणमा भएको वर्षौ पुरानो पिपलको रुख काटेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनास्थित श्री सिद्धनाथ बैजनाथ माध्यमिक विद्यालय मटैनाका प्रधानाध्यापक खडक बिष्टले वर्षौ पुरानो पिपलको रुख आफूखुसी काटेका हुन् ।
प्रकृया मिचेर मनोमानी तरिकाले पिपलको रुख काटेको भन्दै स्थानीयले विरोध जनाएका छन् । ‘हाम्रो पुज्दै आएको पिपलको रुख बिना कारण काटियो,’स्थानीय हरिष ऐडीले सुदूरपत्र डटकमसँग भने,‘पिपलको रुखमा हामी चढ्नै पाप माान्छौं, त्यही रुखलाई काटिदिँदा हाम्रो धार्मिक आस्थामाथि प्रहार भएको महसुस भएको छ ।’ विद्यालयको जमिन प्रसस्तै रहेको बताउँदै उनले भने,‘भवन बनाउनका लागि पर्याप्त जमिन हुँदा हुँदै पनि पिपलको रुख काट्नु पर्ने त्यस्तो बाध्यता के थियो, यसको जवाफ प्रअले दिनुपर्छ ।’ यदि पिपलको रुख काट्नु नै पर्ने भए पनि प्रकृया पूरा गरेर काट्नु पर्ने उनले बताए । ‘वनसँग अनुमति नै लिइएको छैन,’ उनले भने,‘प्रकृया नमिलाएरै आफूखुसी प्रधानाध्यापकले पिपल काटे ।’ पिपल काटेर मात्रै नभई त्यसको जरा उखेल्नका लागि पनि जेसिबी लगाएर करिब ६५ हजार रुपैयाँ समेत खर्च भएको बताउँदै उनले भने,‘पिपल काट्नु मात्रै हैन, त्यसको जरा उखेल्नका लागि पनि ६५ हजार रुपैयाँ खर्च भयो, यदि त्यो पैसा भवनमा लगाएको भए गुणस्तरीय भवन बन्थ्यो ।’ पिपल काटिएको विषयलाई लिएर अहिले स्थानीयले विद्यालयका प्रधानाध्यापकलाई छानबिनको दायरामा ल्याई आवश्यक कारबाही अगाडि बढाउन भन्दै डिभिजन वन कार्यालयसँग माग गरेका छन् ।
पिपलको रुख काटिएको विषय सही भएको प्रधानाध्यापक बिष्टले सुदूरपत्र डटकमसँग बताए । उनले भने,‘नयाँ भवन बनाउनु पर्ने र पुरानो भवनलाई पनि पिपलको रुखले क्षति पुग्ने भएकाले काटिएको हो ।’ वनसँगको प्रकृयाका बारेमा नगई विद्यालय व्यवस्थापन समितिको माइन्युटका आधारमा आफूहरुले पिपलको रुख काटेको उनले स्वीकारे । ‘प्रकृया पुगाउनु पर्ने रहेछ, गल्ती भयो,’ उनले भने,‘विद्यालयको भवन बनाउने कुरामा हाम्रो पवित्र भावना थियो, तर त्यो प्रकृयागत कुरा नजान्दा गल्ती भएछ ।’


