पिरतीको साइनो हाम्रो कलै नछुटोस् …
सरस्वती साफरी,धनगढी,
म सामाजिक सञ्जालमा त्यति समय दिने मान्छे त होइन, तर पनि नयाँ भेटिएकाहरुसँग परिचय गर्न फेसबुक मेरो साथी जस्तै हो । सामाजिक सञ्जालमा धेरै साथीसँग कुराकानी हुनु स्वाभाविकै हो । तर, यस्तैबीच धेरै फेसबुके साथीसँग कुराकानी हुँदै गर्दा मेरो कुरा ‘ऊ’ पात्रसँग पनि हुन्थ्यो ।
हामी दुईबीच पछिल्लो समय दिनहँ सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत् विभिन्न विषयमा धेरै कुराकानी हुन्थ्यो । ऊसँग मेरो कुराकानी हँुदै जाँदा हामी एक–अर्कालाई मन पराउन थालेका रहेछौ पत्तै भएन । उसले मसँग प्रस्ताव राखे र मैले ‘ऊ’ पात्रको प्रेम प्रस्तावलाई सजिलै स्वीकारे । हामीबीच सम्बन्ध गाढा हँुदै गयो । माया त सबैसँग हुन्छ, तर ‘ऊ’ पात्रसँग कस्तो माया थियो मलाई नै थाहा थिएन । ‘ऊ’ पात्रसँग बोल्दा, कुरा गर्दा मलाई धेरै रमाइलो लाग्थ्यो । नयाँ सम्बन्ध, नयाँ दिन र दिनकै हुने नयाँ कुरामा हुने संवादमा मलाई कुरा गर्दा मेरो आफ्नो मान्छे हो कि भन्ने महशुुस हुने गरेको थियो ।
लगभग तीन महिनाको कुराकानी भइसकेको थियो । म आफ्नो दैनिक कामसँगै ‘ऊ’ पात्रलाई भेट्न धनगढीको बसहँुदै अछामसम्म पुगेकी थिएँ । जब म अछाम पुगेँ ‘ऊ’ पात्रलाई देख्ने वितिक्कै झस्किए । प्रत्यक्षरुपमा कहिल्यै नदेखेको अनि पहिलो मान्छे । फेरि ‘ऊ’ पात्रसँग पहिलो भेट । मनमा विभिन्न कुरा खेलाउँदै अछाम पुगेकी म । जति जति अछाम नजिक आउँदै जान्छ मनमा कता कता ‘खुलदुली डर’ लाग्ने । जब म नजिकै पुगेँ र पहिलो पटक प्रत्यक्ष भेटेँ, म आफैमा लजाएँ, रातो पीरो भएँ, मनको एउटा कुनामा खुसीको सीमै थिएन । लाग्थ्यो च्याप्प अँगालिउँ कि झैँ । तर, आफैलाई सम्हालिन पुगेँ ।
त्यो दिन पहिलोपटक बोल्दा हामीले एकअर्कासँग खुलेर कुराकानी गर्न सकेनौ । विस्तारै हाम्रो फोनबाट हुने कुराहरु भेटमा पनि हुन थाल्यो । कुरा गर्दै जिस्कने ‘ऊ’ पात्रसँग मेरो बानी फोनमा पनि थियो र भेटेर पनि उही दोहो¥याएँ । मेरो सारै रिसाउने बानी थियो र म रिसाउँदा ‘ऊ’ पात्र मलाई प्यारो मान्छे भनि फकाउँथ्यो । फेरि ‘ऊ’ पात्रले फकाउँदा म एक छिन रिसाउने र एक छिनमै फेरि खुसी भईहाल्ने बानी थियो । मलाई ‘ऊ’ पात्रले प्यारो मान्छे भनेर बोलाउँदा धेरै मन पथ्र्यो । करिब एक हप्ता म आफ्नो काम पूरा गरेर घर फर्कने कुरा भयो ।
‘ऊ’ पात्रको म भन्दा अघि नै अर्की प्रेमिका थिइन् भन्ने मलाई हल्का मात्रै थाहा थियो । तर, ‘ऊ’ पात्रले त्यो प्रेमिका ‘एक्स’ भइसकी अहिले कुरा हुँदैनभनेको थियो । कुराकानीकै क्रममा ‘ऊ’ पात्रले भन्यो–‘अब मलाई वास्ता पनि छैन, अनि मइले सोचे सम्बन्ध तिमीसँगै हुन्छ ।’ यति मात्रै के भनेको थियो, मेरै अगाडि उही ‘ऊ’ पात्रकी ‘एक्स’भनिएकी प्रेमिकाको फोन आयो । मेरै अगाडि उसले मोबाइलको लाउड स्पीकर अन गरेर फूल साउण्डमा ‘ऊ’ पात्रलाई ‘एक्स’ प्रेमिका भनिएकी केटीले फेरि तिमीलाई प्रेम गर्छु भनि । ‘ऊ’ पात्रले पनि हुन्छ, फेरि हाम्रो सम्बन्धलाई निरन्तरता दिनुपर्छ भन्यो । यत्ति मात्रै के मेरो कानमा प¥यो । मेरो हातको मोबाइल खस्यो । रिँगटा लाग्यो । थचक्क भुइँमा बसेँ । आँखा तिरमिराए । आँखामा अश्रुधारा बगे । गला अवरुद्ध भयो । म आफैदेखि दिक्दार भएँ । आफैले गल्ती गरेको महसुस गरेँ । के के सोँचे सोँचे । ‘ऊ’ पात्रले मलाई सम्झाउन थाल्यो । मैले अब मलाई नछोऊ भने । ‘ऊ’ पात्र टाढैबाट सम्झाउन थाल्यो । ‘ऊ’ पात्रले ‘एक्स’ भनिएकी प्रेमिकासँगको पुनर्मिलन भएको बतायो । मैले पनि ‘ऊ’ पात्रको खुसीको अगाडि मेरो खुसी केही लागेन । मैले सोचे ‘ऊ’ पात्रसँग त मेरो केही दिनको मात्रै प्रेम थियो, तर ‘ऊ’ पात्रको ‘एक्स गर्लफ्रेण्ड’ भनिएकी ऊसँग वर्षौदेखि जोडिएकी थिई ।
म जस्तै उसको पनि मन हो सोच्दै म ‘कम व्याक’ भएँ । अनि मनमा कुरा खेलाउँदै थिएँ – ‘ए ! साँच्चै भगवान् कृष्णकी प्रेमिका राधा हुन्, तर विवाह त रुक्मिणीसँग गरेका थिए । साँचो प्रेममा सब थोक सहन सक्नुपर्छ । सबथोक त्याग्न सक्नु पर्छ । मन पर्ने सबै आफ्नो हुँदैन ।’ बसपार्कमा सहचालकले बहिनी गाडी जानै लाग्यो भनेर कराउन थाल्यो । म गाडीको सिट नम्बर ७ मा बसे र सोचे प्रेममा लक्की नभए पनि सिटमा भने लक्की सेभेनमै परेछु ।
- क्रमशः
