धनगढी, २२ मंसिर । कैलालीको धनगढीमा पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता गराउँदै कार्यक्रमको उद्घाटन गरिएको छ । यस अघि दीप प्रज्वलन गरेर वा ब्यानर पढेर उद्घाटन हुँदै आएको भए पनि पहिलो पटक पत्रकार आचारसंहिता उन्लंगनका घटना बढेको भन्दै सहभागीहरूलाई आचारसंहिता अनुसार काम गर्ने प्रतिबद्धता गराउँदै उद्घाटन गरिएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालना गर्छु मर्यादित पत्रकारिता सुरुवात गर्छु भन्दै सहभागीहरूलाई प्रतिबद्धता गराएका थिए । अध्यक्ष बस्नेतले पछिल्लो समय आचारसंहिता पालना नभएको गुनासोहरू बढिरहेको बताए । ‘हामीले कडाइका साथ आचारसंहिता पालना गराउने अभियानमा छौँ’ उनले भने ‘मर्यादित पत्रकारिताको लागि आचारसंहिता पालना गर्न आवश्यक देखिएको छ । ’
काउन्सिलले मापदण्ड तयार गरेर पत्रिकाको जस्तै अनलाइनहरूको पनि वर्गीकरण गर्ने तयारी गरेको बस्नेतले जानकारी दिए ।
उनले भने, ‘पत्रिकाको जस्तो हामीले अनलाइनलाई पनि वर्गीकरण गर्ने तयारी गरेका छौँ । त्यसको लागि मापदण्ड बनाउने काम अन्तिम चरणमा पुगेको छ । ’
उनले युटुवहरुलाई पनि दायरामा ल्याउने काम समेत भइरहेको जानकारी दिए । उनले युटुवहरुहरुले प्रसारण गरिरहेका समाग्रीहरु विषयमा पनि काउन्सिलमा थुप्रै उजुरी परिरहेको बताउँदै यसले अन्य मिडियाहरूलाई पनि प्रभाव पारिरहेको जनाए । पत्रारहरुको शैक्षिक योग्यताका विषयमा पनि काउन्सिल गम्भीर रहेको बस्नेतले बताए ।
‘
सबैको सामान्य योग्यता निर्धारण गरिएको हुन्छ तर पत्रकारको छैन ’ उनले भने ‘यसको लागि पनि हामीले योजना बनाइरहेका छौँ । ’ कार्यक्रममा उपस्थित पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष चित्रांग थापा, पूर्व केन्द्रीय सदस्यहरू मीन बम, श्याम भट्ट, दिल बहादुर छत्याल, कर्ण शाह, मनमोहन स्वार, बानका केन्द्रीय उपमहासचिव गोविन्द रोस्यारा,पत्रकार महासङ्घ कैलालीका निर्वतमान अध्यक्ष जगत साउद लगायतले समेत पछिल्लो समय आचारसंहिता उन्लंघनका घटना बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । वर्तमान केन्द्रीय सदस्य भरत शाहले पत्रकार महासङ्घ पनि यस विषयमा गम्भीर रहेको जनाए ।
पत्रकार आचारसंहिता जागरण र मिडिया प्रतिको जनगुनासो सुनुवाइ कार्यक्रममा काउन्सिलका अध्यक्ष बस्नेत सहित सदस्यहरू हरि जोशी र लालबाबु शेक समेत उपस्थित रहेका थिए । पत्रकार महासङ्घ कैलाली शाखाले समन्वय गरेको कार्यक्रममा जिल्लाका करिब ७५ बढी पत्रकारहरूको उपस्थिति रहेको थियो । सहभागी पत्रकारहरूले पनि काउन्सिले पछिल्लो समय पत्रकार र पत्रकारिताका विषयमा थुप्रै मुद्धाहरु उठाइरहेको भन्दै यसलाई अझै प्रभावकारी बनाउन सुझाव दिएका थिए । बुधवार कैलालीमा सम्पन्न भएको कार्यक्रम बिहीबार कञ्चनपुर। शनिवार डोटी र आइतबार अछाममा आयोजना गरिएको छ ।