धनगढी, १५ मंसिर । बेमौसमी वर्षाका कारण धानबालीमा ठूलो नोक्सान बेहोरेका कैलालीका किसान गहुँ छर्ने बेला रासायनिक मलको चरम अभाव खेप्न बाध्य छन् । यहाँका मल आपूर्ति गर्ने निकायमा रासायनिक मल नहुँदा किसानले अभाव खेप्न बाध्य भएका हुन् ।
७० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढी र बाँकी ३० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी लिएकोे साल्ट ट्रेडिङ कर्पोरेसनसँग रासायनिक मल छैन ।गहुँ खेतीका लागि मल नपाएपछि किसान समस्यामा छन् ।समय घर्किरहेकाले मलबिनै खेतमा गहुँ छर्न लागेको उनीहरूको भनाइ छ । रासायनिक मलको आशैआशमा समय घर्किंदै गएकाले मलबिनै गहुँ छर्न लागेको धनगढी उपमहानगरपालिका–५ का कृषक धोखे रानाले बताए ।
मलका लागि धेरै दिन सहकारीमा दौडधुप गरेँ, उनले भने । तर, मल नपाएपछि त्यत्तिकै गहुँ छर्न बाध्य भएको छु । सक्ने कैयौँले लुकिछिपी भारतबाट मल ल्याएर खेतमा हालिरहेका छन् । तर, मैले भारतबाट ल्याउन सकेन । यहाँ पनि नपाएपछि त्यत्तिकै गहुँ छरिरहेको छु ।कात्तिक पहिलो साता आएको बाढीले धानबालीमा नोक्सान गरेपछि कैयौँ किसानले यस वर्ष धान भित्र्याउन पाएनन् । भएको धानबालीमा बाढीले क्षति गरेपछि उनीहरूले गहुँखेती राम्ररी गर्ने सपना देखेका थिए । तर, गहुँ छर्ने सिजनमा रासायनिक मलको चरम अभावले किसानको मन अमिलो भएको छ ।
धानबालीमा क्षति भएपछि राहत दिने आश्वासन बाँडेको सरकार किसानको समस्याप्रति गम्भीर नरहेको कैलारी गाउँपालिका–२, बसौटीका कृषक लक्ष्मीनारायण चौधरीले गुनासो गरे । उनले रासायनिक मल अभावमा गहुँ छर्न ढिलाइ भइरहेको उल्लेख गरे ।नेपालबाट मल उपलब्ध नभएपछि कतिपय किसानले लुकिछिपी भारतबाट डीएपी मल ल्याएर गहुँका लागि खेतमा हालिरहेका छन् । आफ्नो देशमा मल नपाएपछि लुकिछिपी भारतबाट ल्याउन बाध्य भएको उनीहरुको भनाइ छ । नेपाली किसान सीमावर्ती भारतीय बजार पुग्न थालेपछि त्यहाँ पनि डीएपीको मूल्य बढाइएको किसानले जनाएका छन् ।
अहिले सुदूरपश्चिम प्रदेशभर नै मलको चरम अभाव छ । भैरहवाको प्रादेशिक कार्यालयबाट रासायनिक मल नठाउँदा समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख रूपबहादुर कुँवरले बताए । उनले साउनदेखि नै ताकेता गर्दै आए पनि मल नपठाउँदा गहुँ खेतीको सिजनमा रासायनिक मलको अभाव भएको उल्लेख गरे ।
उनका अनुसार गहुँ खेतीका लागि कृषि सामग्री कम्पनी लिमिटेडले सुदूरपश्चिमभरि पाँच हजार मेट्रिक टन डीएपी र चार हजार मेट्रिक टन युरिया मल आपूर्ति गर्नुपर्ने हो । तर, डीएपी अहिलेसम्म ८४ टनमात्रै वितरण गर्न सकिएको छ । सो कार्यालयले यहाँका सहकारीमार्फत किसानलाई रासायनिक मल वितरण गर्दै आएको छ ।
३० प्रतिशत मल आपूर्तिको जिम्मेवारी पाएको साल्ट ट्रेडिङ कर्पोरेसनले पनि भैरहवाबाट मल नआउँदा अभाव रहेको जनाएको छ । सो कार्यालयका प्रमुख केशवप्रसाद पाण्डेयले तत्काल डीएपी मल आउने सम्भावना नरहेको बताए । अन्तर्राष्ट्रिय बजारमै डीएपी मलको अभाव छ । त्यसैले यहाँ मागअनुसार तत्काल डीएपी आपूर्ति हुने सम्भावना छैन, उनले भने । अलि–अलि युरिया मल आइरहेको छ । आएको युरिया मल किसानलाई वितरण गरिरहेका छौँ ।