दार्चुला,१४ मंसिर। दार्चुलाको महाकाली नगरपालिकामा अवस्थित महेन्द्र नमुना माध्यमिकविद्यालयलाई खेलकुद र शैक्षिक सामग्री वितरण गरिएको छ । अभिभावक गुमाएका असहाय तथा गरिब जेहेन्दार विद्यार्थी छात्रहरूलाई नेपाली सेनाले शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको हो ।
जिल्ला सदरमुकाम खलङ्गा स्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा अध्ययनरत १४ जना असहाय छात्रहरूलाई नेपाली सेनाको विकास निर्माण कार्यदल गण–२ र गुरु गोरख गुल्म दार्चुलाले संयुक्त रूपमा शैक्षिक सामग्री तथा खेल सामग्री सहयोग गरेको विकास निर्माण कार्यदल गण–२ का गणपति रमेश गुरुङले बताए। यो हाम्रो तर्फबाट सानो सहयोग हो । यसले बालबालिकाहरूमा सकारात्मक सोचको विकास होस भन्ने उद्देश्यले सहयोग गरेको उनले बताए ।
असहाय छात्रहरूलाई अन्य निकायबाट पनि सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ नेपाली सेनाले शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको हो । नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले टेबुल टेनिस बोर्ड १, डोरमेट ८ थान, टोपी, मोजा, पञ्जा १४÷१४ थान, स्टेशनरी, टिटि ब्याड सेट, नेट, बल, वाटर डिस्पेन्सर १ थान, वाटरजार १ थान, कप १४ सेट सहयोग गरिएको गुल्मपति ठकुल्लाले जानकारी दिए।
यस्तै गुल्मपति कुल्लाले व्यक्तिगत रूपमा १५ जना असहाय छात्रहरूलाई ट्याकसुट सहयोग प्रदान गरेका छन्।यस्तै विकास निर्माण कार्यदल गण–२ ले १५ थान डिक्सनरी, ब्याडमिन्टन प्याकेट, कक, ब्याडमिन्टन जाली, प्लास्टिक बाल्टी, ट्वाइलेट सफा गर्ने ब्रस, चेस सेट, लुडो सेट, स्ट्यान्ड सहितको क्यारमबोर्ड सहयोग गर्नुका साथै ब्याडमिन्टन र टेबुल टेनिस बोर्ड निर्माण गरेको गणपति रमेश गुरुङले बताए ।
नेपाली सेनाले गरेको सहयोगको प्रशंसा गर्दै महेन्द्र नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले विशेष रूपमा सेनालाई धन्यवाद दिए । नेपाली सेनाले सामाजिक र जनहित कार्य अन्तरगत असहाय बालबालिका, वृद्ध,वृद्धा, समस्यामा परेका नागरिकलाई समय–समयमा विभिन्न सहयोग गर्दै आइरहेको छ । विद्यालयका प्रधानाध्यापक जोशीले आगामी दिनमा पनि सबैबाट सहयोग र सहकार्यको अपेक्षा गरेको बताए ।