धनगढी,१३ मंसिर । कैलालीमा मतदाता नामावली संकलन सुरु हुने भएको छ। मंसिर १७ गतेदेखि पहिलो चरणको मतदाता नामावली संकलन हुने निर्वाचन कार्यालय कैलालीले जनाएको छ।
मंसिर १७ गतेदेखि पुस २ गतेसम्म पहिलो चरण र पुस ४ गतेदेखि १८ गतेसम्म दोस्रो चरणमा मतदाता नामावली संकलन गरिने प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए।कैलालीका १३ स्थानीय तहमध्ये १० वटामा अभियान सञ्चालन हुने भएको उनले बताए। पहिलो चरणमा ५ वटा स्थानीय तह र दोस्रो चरणमा ५ वटा गरी १० वटा स्थानीय तहमा मतदाता नामावली संकलने निर्वाचन कार्यालयले जनाएको छ।
पहिलो चरणमा कैलारी गाउँपालिका, गोदावरी नगरपालिका, बर्दगोरिया गाउँपालिका, चुरे गाउँपालिका र जोशीपुर गाउँपालिकामा मतदाता नामावली संकलन हुनेछ। यस्तै दोस्रो चरणमा लम्कीचुहा नगरपालिका, मोहन्याल गाउँपालिका, गौरीगंगा नगरपालिका, जानकी गाउँपालिका र भजनी नगरपालिकामा नामावली संकलन हुनेछ।
बाँकी तीनवटा स्थानीय तहमा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलनको काम हुने जनाएको छ । कैलालीमा अहिलेसम्म २ लाख ४२ हजार ६१२ पुरुष, २ लाख ५५ हजार ४७७ महिला र १० जना अन्य गरी ४ लाख १९ हजार ९९ मतदाता रहेका छन्।