धनगढी, २९ कार्तिक । २९ कात्तिक कैलालीमै पहिलो पटक खेती गरिएको ‘रेड बनाना’ उत्पादन हुन थालेको छ । गत वर्ष जेष्ठमा धनगढी उप–महानगरपालिका–९, बंगराका दिनेश चौधरीले रेड बनाना खेती सुरु गरेका थिए । व्यवसायीक खेती गर्ने उदेश्यले लगाएको ‘रेड बनाना’ ११ महिनामा पसाउन थालेको हो ।
चौधरीले आफूले सञ्चालन गर्दै आएको एकल थारु होम–स्टेको पूर्वपट्टी करिब डेढ कठ्ठा र होम–स्टेको बार छेउछाउ गरेर एक सय ३० बोट रातो केरा लगाएका थिए । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको चौधरीले कैलालीमै पहिलो पटक खेती सुरु गरेका छन ।
क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै रातो हुन्छ ।
अन्य केराकै समयअनुसार फल्ने र त्यस्तै हुने यसको बोट भने निकै आकर्षक देखिन्छ । दक्षिण भारतमा बढी मात्रामा पाईने रातो केराको खेती प्रदेशको अन्य जिल्लामा समेत गरिएको छ । ‘पहिलो पटक परिक्षणका रुपमा लगाएको थिए’, चौधरीले भने, ‘बाहिरबाट ल्याएर टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेको थिए । अहिले सफल भएको महसुश गरेको छु ।’
सामान्य केरा जस्तै बोट भएपनि ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा दुई महिना ढिलो फल दिने रातो केराको फल रातो र ठूलो हुन्छ । कृषि बिज्ञका अनुसार रातो केरा स्थानीय जातका केरा जस्तै हुने भएपनि यसमा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ भने सुगरको मात्रा एकदम कम हुन्छ, ।
चिनीको मात्रा अत्यन्त कम हुने हुनाले यो रातो केरा मधुमेहका बिरामीका लागि बढी उपयुक्त हुने हुन्छ । मुटु सम्बन्धी रोगीका लागि निकै लाभदायी हुने रातो केरामा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त मात्रामा पाइने कृषि बिज्ञको भनाई छ ।