गडसेरा(डोटी) २८ कार्तिक/असोज अन्तिम साता परेको बेमौसमी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर बन्द भएको डोटी जिल्लाको जोरायल गाउँपालिका वडा नं ५ गड्सेरा जोड्ने सडक अहिलेसम्म पनि नखुल्दा स्थानीय बासिन्दा लाई निकै सास्ती भएको छ ।असोज ३० गतेदेखि परेको अविरल वर्षासँगै यस सडकखण्डका विभिन्न ठाउँमा पहिरो आएर यातायात सेवा बन्द भएको हो । सडक अझै नखुल्दा दैनिक उपभोग्य वस्तु किन्न र बेच्न आफूलाई निकै अप्ठ्यारो भएको स्थानियको गुनासो रहेको छ ।
यसैगरी सडक बन्द भएपछि गाउँमा गाडी नजाँदा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत आकाशिएको उपभोक्ताले बताए । गाउँमा गाडी नआउने र एक दिनको पैदल दूरीबाट सामान बोकेर ल्याउनुपरेका कारण दैनिक उपभोग्य वस्तु महङ्गिएको जोरायल ५ समरियका सुरेन्द्र देउवाले बताए । सडक बन्द हुँदा सदरमुकाम आउजाउ गर्न घण्टौँ टाढा पर्ने कैलालीको शिवनगर तथा डोटीको भीमदत्त राजमार्गको बाटो प्रयोग गर्न बाध्य भएको स्थानियको भनाइ छ ।
उता डिभिजन सडक कार्यालयले दिपायल–नापानी हुँदै गड्सेरा जोड्ने सडक शिखर नगरपालिका तथा जोरायल गाउँपालिका मातहत भएका कारण त्यो सडक खोल्न नगरपालिका र गाउँपालिकाले नै पहल गर्नुपर्ने जोरायल–५का वडा अध्यक्ष ध्वजबहादुर देउवाले बताए ।असोज महिनाको भारी वर्षाका कारण उक्त सडक खण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडकप्रती स्थानिय जनप्रतिनिधि, वडा र गाउँपालिकाले कुनै कदम नचालेको काँग्रेस जोरायलका सचिव लिलाधर बिष्टले जानकारी दिए ।
यता जोयाराल गाउँपालिका अध्यक्ष दुर्गा दुर्गादत्त ओझाले वर्षाका कारण बिग्रिएको सडक खुलाउनका लागि डोजर सञ्चालनमा रहेको बताए । उनले भने, “ जोरायल क्षेत्रबाट सडक खुलाउने काम भइरहेको छ, ठाउँ–ठाउँमा ठूल्ठूला पहिरा गएकाले केही समस्या भएको हो, पहिराले बन्द भएका सडक चाडै सञ्चालनमा ल्याउन गाउँपालिका लागिरहेको छ ” ।