सरस्वती साफरी
धनगढी, २२ कार्तिक । धनगढीस्थित मोहना नदी तटमा सिँगार पटार गरिन थालिएको छ । सोमबारदेखि मोहना तटमा टेन्ट टाँगेर सरसफाई गरिन थालिएको छ । मैथिली भाषीको मौलिक पर्व छठको अवसरमा मोहना तट सरसफाई गरिनुका साथै सिँगारिन थालिएको हो ।
सोमबार बिहानैबाट नदी किनारमा सरसफाई गरिनुका साथै टेन्ट टाँगिने काम भएको छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डल धानुकले बताए । उनले भने,‘आजबाट नदी किनारमा सरसफाई गर्नुका साथै टेन्ट टाँगेका छौँ, आजैबाट नदी झकिझकाउ बनाउन सुरु भएको छ ।’ टेन्ट टाँगिनुका साथै कारिगढले नदी किनारमै भगवानका मूर्तिहरु पनि बनाउन थालेका छन् ।
छठ पर्वमा भक्तजनले माछा, मासु प्याज, लसुन नखाई शुद्ध खाना खाएर मनाउने गरिएको छ । यस पर्वमा विशेष गरेर सूर्यनारायणको पूजा गरिन्छ । सोमबारबाट सुरु भएको छठ पर्वमा पहिलो दिन नहाइ खाई, दोस्रो दिन बेलुकी गुडबाट बनेको परिकार ‘खरना’ प्रशादका रुपमा खाने गरिन्छ ।
यस्तै तेस्रो दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसी भजन कीर्तन गर्ने गरिन्छ भने त्यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गर्ने गरिन्छ ।

