धनगढी: थरुहट थारुवान राष्ट्रिय मोर्चाका अध्यक्ष लक्ष्मण थारूले सरकारले टीकापुर घटना मुद्दाको सवालमा थारूसँग गरेको वार्ता नौटंकी जस्तो मात्रै भएको बताएका छन्। उनले अबको वार्ता ुराजबन्दीु परिवारसँग हुनुपर्ने बताए।
अज्ञात ठाउँमा भएको पत्रकार सम्मेलनमा नेता थारूले सरकारले वार्तामार्फत समस्या समाधान नभई वार्ता गरेको मात्रै देखाउन खोजेको आरोप लगाए। ‘एक महिनादेखि खाली थारू समुदायसँग वार्ता गर्यौं भनेर देखाउन सरकारले वार्ताको नौटंकी गर्दै छ। अहिलेसम्म एउटा बुँदामा पनि छलफल भएको छैन’, उनले भने। ‘बादलद्वारा अब वार्ता सफल हुँदैन। टीकापुर घटनाका सवालमा लाल आयोग र देवीराम शर्मा समितिको प्रतिवेदन टेबुलमा राखेर प्रधानमन्त्री स्वयं वार्तामा आउनुपर्छ।’
उच्च अदालत दिपायलको टीकापुर घटना मुद्दाको फैसलापछि दोषी ठहर भई अर्धभूमिगत भएका थारूले छानबिन प्रतिवेदन सिरानीमुनी लुकाएर टीकापुर घटना मुद्दाको समाधान नहुने बताए।
उनले कुनै पनि समुदायसँगको सद्भाव नबिग्रिने गरी मुद्दाको शीघ्र समाधान हुनु पर्ने उल्लेख गरे। ‘यसलाई चाँडै समाधान गर्नुपर्छ हैनभने, पहिलो, दोस्रो चरणको विरोधको कार्यक्रम गरिसकेका हामी अब आउँदो १६ गतेदेखि तेस्रो चरणको आन्दोलन गर्दै छौं,’ थारूले भने।
उनले रेशम चौधरी रिहाइ र टीकापुर घटना मुद्दालाई सरकार गिराउने र बनाउनेसँग जोड्न नहुने बताए। यसैगरी सो घटनाको उचित समाधानका लागि सरकारले रेशम चौधरीलाई जेलबाट बाहिर निकालेर चौधरीसहित बन्दी र बन्दीका परिवारसँग वार्ता गर्न आवश्यक रहेको औंल्याए।
