काठमाडौं २७ फागुन/ नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष भीम रावलले कैलालीमा नेमप्लेट हटाएर उब्जिएको विवाद पूर्ववत् अवस्थामै फर्किसकेको बताएका छन्। उनले आफू नै पार्टीको आधिकारिक प्रदेश ईन्चार्ज भएको भन्दै नेमप्लेट विवादको कुनै अर्थ नभएको नेपाल प्रेस अनलाईनले खबर लेखेको छ ।
रावलले भने– उनीहरुले जबरजस्ती अर्कैको नेमप्लेट राख्न खोज्नु नै गलत थियो । अब त्यो विवाद पूर्ववत् स्थितिमा आइसक्यो । एमालेको स्थिति पूर्ववत् हुने बित्तिकै सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज स्वतः पहिलाकै हुन्छ, मै हुन्छु । कसैले रिस गरेर हुँदैन । देश र जनताप्रति कटिबद्ध भएर इमान्दारपूर्वक लाग्ने व्यक्तिहरुलाइ रिस गरेर, गुन्डागर्दी गरेर केही गर्छु भन्ने कसैले नसोचे हुन्छ ।
बुधबार कैलालीस्थित एमालेको सुदूरपश्चिम प्रदेश कार्यालयमा राखिएको प्रदेश इन्चार्जको नेमप्लेटबाट रावलको हटाएर लेखराज भट्टको राखेपछि एमालेकै दुई पक्षका कार्यकर्ताबीच विवाद भएको थियो।