काठमाडौं, २० फागुन/ वन तथा वातावरण मन्त्री प्रेम आले मगर एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा चिप्लिएपछि उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी सरकार नभएको बताएका छन् ।
काठमाडौंमा मंगलबार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताएका हुन् ।
उनले भने, “यो जनताको सरकार हो । यो सरकार जनताप्रति उत्तरदायी सरकार हो भन्ने लाग्छ भने, त्यो तपाईंको ठूलो भूल हो ।”
त्यसैगरि उनले मानिसहरुले अक्सिजन फाल्ने र बोटविरुवाहरुले कार्बनडाइक्साइड फाल्नेसमेत बताएका छन् । उनले भनेका छन्, “जुन रुखबाट हामी कार्बनडाइक्साइ पाउँछौं । जुन रुखलाई हामी अक्सिजन दिन्छौं । त्यही रुख यदि रहेन भने के हुन्छ हालत ?”
उनले सोही कार्यक्रममा आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको बताएका थिए । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागिय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताएका हुन् ।
गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो ।