धनगढी, फागुन १४/ धनगढीमा आज देखि चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग एलपिएल० – ५ सुरु हुँदै छ । विद्यालय स्तरको यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा देशभरका १६ टिमको सहभागिता रहेको छ ।
काठमाडौँ र कञ्चनपुरका समान २, रुपन्देहीको १, दाङको १ र कैलालीका १० विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्ट्सले आयोजना गरेको प्रतियोगिता फागुन २९ गते सम्म चल्ने छ । प्रतियोगितामा विजेताले १ लाख २० हजार र दोस्रो टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १० हजार,उत्कृष्ट ब्याट्सम्यान, बलर र उदीयमान खेलाडीलाई समान ५ हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १ हजार ५ सय पाउने छन् । प्रतियोगिताको उद्घाटन खेलमा शनिवार आयोजक लिटल फ्लावर र कैलालीको गेटामा रहेको विद्या भूषणबीच प्रतिस्पर्धा हुनेछ ।
कुन टोली कुन समूहमा ?
सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा काठमाडौँको हिमालयन ह्याइट हाउस, धनगढी तारा नगरमा रहेको शारदा विद्या निकेतन, काठमाडौँको नेक्सस इन्टरनेसनल एकेडेमी र कञ्चनपुरको महेन्द्रनगरमा रहेको लिटल बुद्ध एकेडेमी छन् । त्यस्तै समूह ‘बी’ मा धनगढी २ मा रहेको लिटल फ्लावर इङ्लिस बोर्डिङ स्कुल, धनगढीको शारदा माध्यमिक विद्यालय वैयावेहडी, धनगढीकै त्रिनगर माध्यमिक विद्यालय र विद्या भूषण पब्लिक स्कुल गेटा छन् ।
धनगढीको स्टेपिङ्ग स्टोन इङ्लिस बोर्डिङ स्कुल, कञ्चनपुरको शारदा सरस्वती माध्यमिक विद्यालय दोधारा, धनगढी नमुना माध्यमिक विद्यालय धनगढी र अत्तरियाको होल्याण्ड इङ्लिस बोर्डिङ स्कुल समूह ‘सी’मा छन् । त्यस्तै समूह ‘डी’ मा कैलालीको बौनियामा रहेको नव बालबालिका विद्या मन्दिर, रुपन्देहीको न्यु एकेडेमी बोर्डिङ स्कुल, दाङको रोजी बर्ड्स बालबालिका सेकेण्डरी बोर्डिङ स्कुल र कैलालीको लम्की मा रहेको गुरुकुल इङ्लिस मिडियम स्कुल छन् ।