धनगढी, माघ १८ / स्पेनिस ला लिगाको साविक विजेता रियल म्याड्रिड पराजित भएको छ। रियललाई शनिबार राति भएको खेलमा लेभान्तेले २(१ गोलले पराजित गरेको हो।
खेलको नवौं मिनेटमै डिफेन्डर इडर मिलिटाओले रातो कार्ड पाउँदा रियल सुरुमै दबाबमा परेको थियो। लेभान्तेका सर्जियो लियोनलाई पेनाल्टी एरिया बाहिर फल गरेका मिलिटाओलाई सुरुमा पहेँलो कार्ड देखाइएको थियो।
१० खेलमा सीमित हुनुका बावजुद रियलले खेलको १३ मिनेटमा एसेन्सियोको गोलबाट अग्रता लियो। ३२ मिनेटमा लेभान्तेका मोरालेसे बराबरी गोल फर्काए। पहिलो हाफ १(१ गोलको बराबरीमा सकिएको खेलको ७८ मिनेटमा लेभान्तेले मार्टीको गोलबाट अग्रता लियो।
लिगाको अंक तालिकामा एट्लेटिको म्याड्रिड १८ खेलबाट ४७ अंक जोड्दै शीर्ष स्थानमा छ।
दोस्रो स्थानको रियल म्याड्रिडको २० खेलबाट ४० अंक छ। सेभिया २० खेलबाट ३९ अंक जोड्दै तेस्रो स्थानमा छ भने चौथो स्थानको बार्सिलोनाको १९ खेलबाट ३७ अंक छ।
