काठमाडौं, पुस २१/ नेपाल सरकारले बंगलादेशबाट सरकार–सरकार जीटुजी प्रक्रियामार्पmत किनेर ल्याउने भनिएको ५० हजार मेट्रिकटन मेटन युरिया मल आयात हुन अझै १ महीना लाग्ने देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले मल खरीद तथा आयातका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी बंगलादेश सरकारलाई औपचारिक पत्र पठाएको थियो । दुई देशबीच सम्झौता पत्रमा हस्ताक्षर भएको १८ दिनपछि सोमवार बंगलादेशले औपचारिक रूपमा उक्त पत्र स्वीकृत गरी प्रतीतपत्र ९एलसी० खोल्न नेपाललाई बाटो खुला गरिदिएको छ ।
मल आयातको जिम्मा पाएको कृषि सामग्री कम्पनीले बुधवारसम्म एलसी खोल्ने जानकारी दिएको छ । कम्पनीका खरीद महाशाखा प्रमुख विष्णु पोखरेलका अनुसार नेपालले एलसी खोलेको १० दिनपछि बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनले नेपाललाई मल उपलब्ध गराउन थाल्नेछ ।
त्यसपछि उक्त मल नेपालसम्म आइपुग्न करीब महीना दिनजति लाग्न सक्ने उनले बताए । उक्त मल अबको १ महीनामा बंगलादेशको चटगाउँ मल मंगला जलमार्गबाट जेस्वर वा खुल्ना हुँदै रोहन–सिंहवादबाट रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको भैरहवा, वीरगञ्ज र विराटनगरका गोदामसम्म आइपुग्नेछ । बंगलादेश सरकारले पत्रको जवाफ पठाउन ढिलाइ गरेका कारण खरीद प्रक्रिया लम्बिन गएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा। श्रीराम घिमिरेले बताएका छन् । मल खरीदका लागि कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्ट्रिज कर्पोरेशनका बीच यही पुस २ गते सम्झौता भएको थियो ।
बंगलादेश सरकारले सरकारी कम्पनीमार्फत मल दिने नभई त्यहीँको निजी कम्पनीमार्फत मल किनेर दिन लागेकाले पनि प्रक्रियामा केही ढिलाइ हुन गएको बुझिएको छ ।
बंगलादेश सरकारले त्यहाँकै काफको नामक कम्पनीसँग मल खरीदका लागि एलसी खोलेर लामो प्रक्रिया पूरा गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको कृषि सामग्रीले जानकारी दिएकोे छ । यद्यपि सम्झौतामा बंगलादेशको सरकारी कम्पनीले नै उत्पादन गरेको मल नै नेपाललाई उपलब्ध गराइने भनिएको थियो । अहिले त्यहीँको निजी कम्पनी काफकोसँग किन्ने निर्णय भएको छ । तर, रेट यथावत् हुने कृषि सामग्रीले बताएको छ ।
आयातमा केही ढिलाइ हुने भए पनि यति बेला प्रशस्त मात्रामा मल स्टक भएकाले तत्कालका लागि मलको अभाव नहुने कृषि सामग्रीले बताएको छ । यति बेला कृषि सामग्रीसँग ८ हजार मेटन युरिया, ८ हजार मेटन डीएपी र ९ हजार मेटन पोटास मौज्दात रहेको छ ।
त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनसँग २२ हजार मेटन युरिया, १३ हजार मेटन डीएपी र ५ हजार मेटन पोटास मौज्दात रहेको छ । साथै, साल्टले मगाएको २० हजार मेटन डीएपी र २० हजार मेटन युरिया आयातको क्रममा रहेको छ ।