धनगढी, १८ पुस/ दैलेखकको आठबीस नगरपालिका– ५ का वडाध्यक्ष कर्णबहादुर आले मगर पक्राउ परेका छन् । स्थाीनय दीप माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षसमेत रहेका वडाध्यक्ष आले मगर शिक्षक भर्नाका लागि घुस लिएको आरोपमा पक्राउ परेका हुन् ।
उनीसँगै विद्यालयका प्रधानाध्यापक पदम सिजापति पनि पक्राउ परेका छन् । शिक्षक नियुक्तिका लागि लिइएको परीक्षामा घुस लिएको आरोपमा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिलाई पक्राउ गरिएको दैलेख प्रहरीले पुष्टि गरेको छ ।
परीक्षामा घुस लिएको परीक्षार्थीहरूबाटै खुलेपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई दैलेखले शनिबार सदरमुकाममा सञ्चालन गरेका चार वटा विद्यालयका शिक्षक छनोटको लिखित परीक्षामध्ये दीप माविमा मावि तहको अंग्रेजी विषयको एक जना राहत शिक्षकको परीक्षामा वडाध्यक्ष आले मगर र प्रधानाध्यापक सिजापतिले घुस लिएको आरोप लागेको हो ।
मावि राहत शिक्षक पदमा प्रतिस्पर्धी चार जना मध्ये एक जना उत्तीर्ण भएका थिए । शिक्षा विकास तथा समन्वय इकाई दैलेखका प्रमुख तेजबहादुर थापाले दीप माविको परीक्षामा घुस प्रकरणमा मुछिएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी पाएको र इकाई कार्यालयको कुनै संलग्नता नरहेको, सबै परीक्षाहरूमा शिक्षक सेवा आयोगको मापदण्ड पालना गरिएको बताए ।
घुस प्रकरणमा प्रधानाध्यापक सिजापती र वडाध्यक्ष आले मगरसँगै तेश्रो व्यक्तिको समेत संलग्नता देखिएकोले आरोपितको खोजी र थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।