धनगढी, १८ पुस/ कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का वडा सदस्य रमशे चौधरी पुस १० गते साँझपख भासीबाट तिलकपुर घरतर्फ जाँदै थिए। भासी पुल नजिकै पुग्दा उनको टाउकमा अज्ञात व्यक्तिहले हतौडा जस्तो वस्तुले हिर्काए। चौधरीको टाउकोमा चोट लागेर घाइते भए। उनलाई तत्काल महाकाली अस्पतालमा उपचारका लागि पुर्यायो।
घटना किन र कसले गरायो भन्ने चौधरीले केही थाहा पाएनन्। प्रहरी पनि अलमलमा पर्यो । चौधरीलाई हतौडाले हानेर घाइते बनाएको दोस्रो दिन भीमदत्त नगरपालिका ८ तिलाचौरमा एक अटो चालकलाई त्यसैगरि हतौडाले हानेर घाइते बनाइयो । महेन्द्रनगरबाट अटोमा तिलाचौरसम्म गएका उनीहरुले पुरा भाडा दिएनन्। अटो चालक भीमदत्त नगरपालिका १५ गोबरियाका केशवदत्त भट्टले भाडा माग्दा घनले टाउकोमा हिर्काएर भागे।
एकपछि अर्को गरि उस्तै प्रकृतिका घटनाहरु हुन थालेपछि प्रहरीलाई समेत तनाव बढ्यो । तर घटना कसले र कसरी गरायो भन्ने सम्म कतैबाट केही जानकारी आएन । ‘हामीले सुक्ष्म टीम बनाएर अनुसन्धान सुरु गर्यौं,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले भने, ‘अनुसन्धान गर्दै जाँदा एउटा समुह नै पत्ता लाग्यो ।’
प्रहरीले दुवै घटनामा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ३ का गौरब चन्द, कृष्णपुर नगरपालिका १ नरेन्द्र साउद, बेदकोट नगरपालिका ८ का निरज अडायत, भीमदत्त नगरपालिका १८ का दिनेश चन्द, भीमदत्त नगरपालिका ११ का प्रज्वल खडका र भीमदत्त नगरपालिका ३ का निरज विष्ट रहेका छन् । यसैगरि भीमदत्त नगरपालिका १८ का मिलन चन्द र भीमदत्त नगरपालिका ७ का गौतम विष्ट फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको सबैमाथि ज्यान मार्ने उदोगमा मुद्दा चलाइने एसपी मरासिनीले बताए ।