धनगढी, ३ पुष/ बझाङको सुनकुडा क्याम्पसका व्यवस्थापन समिति उपाध्यक्ष हरिष खड्कामाथि हातपात गर्ने समुहलाई प्रहरीलेनै संरक्षण गरीरहेको छ । खड्कामाथि हातपात भएको हप्तादिन सम्मपनि पक्राउ गर्नुको सट्टा उल्टै प्रहरीलेनै उनिहरुलाई संरक्षण दिएको हो ।
तरुण दलका गाँउपालिका कमिटि अध्यक्ष हिक्मत मल्ल, कमल अधिकारी लगाएतको समुहले खड्कामाथि हातपात गरेको थियो । उनिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय बझाङमा अभद्र व्यवहार र कुटपिटमा मुद्धा दर्ता भएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रुपक खड्काले उपाध्यक्ष खड्कामाथि हातपात गर्नेहरुको खोजिकार्य भईरहेको र फरार रहेकोले पक्राउ गर्न नसकिएको भन्दै टार्दै आएका छन् । उनले भने–‘तीन जना विरुद्ध उजुरी दर्ता भईसकेको छ, उनिहरु खोजी भईरहेको छ, फरार रहेकोले पक्राउ गर्न नसकिएको छैन् ।’
यता देउलेख प्रहरी चौकीले बिहीबार पक्राउ गरेका उनिहरुलाई डिएसपीको आदेशपछि छाडेको थियो ।
२०६४ सालदेखी क्याम्पसले प्रयोग गर्दै आएको बाटोको मुआब्जा भन्दै तरुण दल अध्यक्ष मल्ल सहितको समुहले क्याम्पससंग १७ लाख बढी रकम बार्गेनिङ गरेका थिए । उनिहरुले गरेको बार्गेनिङ रोक्न खोज्दा क्याम्पस व्यवस्थापन समिति उपाध्यक्ष खड्कामाथि हातपात गरेको थिए ।
क्याम्पस प्रमुख इन्द्र बिष्टको संलग्नतामा मल्ल समुहलाई सुरुमा सात लाख दिने गरी भएको सहमति रोक्न खोज्दा खड्कामाथि हातपात गरेका थिए ।
क्याम्पसको भवन निमार्ण गर्ने क्रममा जग्गाधनी दिपेन्द्र मल्लसंग मौखीक रुपमा बाटो दिने भन्दै भएको सहमतिको आधारमा प्रयोग गर्दै आएको झण्डै पाँच सय मिटर बाटोको मुआब्जा भन्दै बार्गेनिङ गरेका थिए ।
क्याम्पस प्रमुखको मिलेमतोमा प्रशासन र व्यवस्थापन समितिको निणर्य बिना नै उनिहरुलाई रकम दिन लागेको बेला रोक्न खोज्दा आफुमाथि हातपात भएको उपाध्यक्ष खड्काले बताए । उनले भने–‘क्याम्पसले बाटो अरुको जमीनमा प्रयोग गरिरहेको स्वभाविक हो तर यसरी क्याम्पसमा कुनै निणर्य र छलफल बिना रकम दिनु गतल भएको भन्दै रोक्ने क्रममा उनिहरु म माथि हातपात गरे ।’
आफुमाथि हातपात गर्ने मल्ल सहित तीन जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको सात दिन बितिसक्दा समेत प्रहरीले उनिहरुलाई पक्राउ गर्नुको सट्टा उल्टै संरक्षण गरीरहेको बताए ।
आफुलाई गम्भीर चोट लागेर धनगढीमा उपचार गराइरहेको सुनाए । उनले जग्गाधनिले क्याम्पसमा मुआब्जाको लागी कुनै निवेदन नदिएको र क्याम्पस स्थापना गर्ने क्रममा बाटो दिने मौखीक सम्झौताको आधारमा प्रयोग हुदैँ आएको बाटोको अहिले मल्ल सहितको समुहले क्याम्पस प्रमुखसंग मिलेर बार्गेनिङ गर्न खोजेको आरोप लगाए ।
क्याम्पसमा बिना निवेदन र क्याम्पस प्रशासन र व्यवस्थापन समितिको निर्णय बिना रकम नदिन भनेपछि आफुमाथि हातपात गरेको उनको भनाई छ ।
मल्ल समुहले अहिले क्याम्पस जाने बाटो पुर्ण रुपमा बन्द गरेका छन् । बार्गेनिङ अनुसारको रकम दिए मात्रै बाटो प्रयोग गर्न दिने उनिहरुले माग गरेका छन् ।