धनगढी,३ पुस/ भारतबाट अवैधरुपमा भित्र्याएका ६ वटा राँगा बाँके प्रहरीले पक्राउ गरेको छ । भारतको बाबागंजबाट नेपालगन्ज भित्र्याइएका ती राँगा नेपालगन्ज २१ विर्ताबाट पक्राउ गरिएको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिए।
सस्तो मूल्यमा राँगा नेपाल ल्याएर तस्करहरुले बढी मूल्यमा विक्री गर्ने गरेका छन् । ती राँगा मासुको लागि यहाँ खपत हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नाकाबाट सशस्त्र प्रहरीको सेटिंगमा भित्रिएका ती अवैध राँगा नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका राँगाको मूल्य १ लाख २० हजार बराबर रहेको प्रहरीले बताएको छ । उक्त राँगा थप कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।