काठमाडौं-बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइमा छिरिङ गुरुङले डेब्यु गर्ने भएका छन् ।च्यासल युवा क्लबका छिरिङ राइट ब्याक पोजिसनमा खेल्ने गर्दछन् । इलामका छिरिङले नेपालका लागि उमेर समूहका विभिन्न टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । छिरिङले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गर्ने अवसर पाएका हुन् ।
प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट चार खेलाडी परिवर्तन गर्दै तुलनात्मक रुपमा आक्रामक रणनीति अबलम्बन गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ टोलीमा आएका छन् ।
डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । उनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए । मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।
आक्रमणमा नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेल्दैछन् । भरतले नै टोलीको कप्तानी समेत सम्हाल्नेछन् । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।