एजेन्सी, १३ कार्तिक । विश्वभरका फुटबलप्रेमीले सुपरस्टार द्वय बार्सिलोनाका लिओनल मेस्सी र युभेन्ट्सका क्रिस्यिानो रोनाल्डोबीच मैदानमा हुने प्रतिस्पर्धाका लागि अझै धैर्य गर्नुपर्ने भएको छ ।
कोरोना परिक्षणको अर्को नतिजा पनि पोजेटिभ आएपछि रोनाल्डो बार्सिलोनाविरुद्ध बुधबार हुने च्याम्पियन्स लिगको खेलमा उपलब्ध हुने छैनन् । बार्सिलोनाविरुद्ध हुने खेलको एक दिन अघि दिउँसो भएको पत्रकार सम्मेलनमा युभेन्ट्सका प्रशिक्षक आन्द्रे पिर्लोले रोनाल्डाको कोरोना परिक्षणको नतिजाको प्रतिक्षा भइरहेको बताएका थिए ।
परिक्षणको नजिता पुनः पोजेटिभ आएको बुधबार थाहा भएको छ । पोर्चुगलको राष्ट्रिय फुटबल टोलीको जिम्मेवारीमा रहँदा रोनाल्डोलाई अक्टुबर १३ मा पहिलो पटक कोरोना पोजेटिभ पाइएको थियो । त्यसपछि उनी भ्रमण छाडेर सेल्फ आइसोलेसमा बसेका थिए ।
सेल्फ आइसोलेसनका दौरान रोनाल्डोले सामाजिक सन्जालमार्फत पौडी पोखरी, जिममा अभ्यास गरिरहेको तस्बिर सावर्जनिक गरेका थिए । उनको अनुपस्थितिमा युभेन्ट्सले सिरि एमा पनि संघर्ष गरिरहेको छ । च्याम्पियन्स लिग समुह चरणको पहिलो खेलमा भने रोनाल्डो विनानै टोलीले जित निकालेको थियो ।