काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरी फेरी सक्रिय बनेको छ।
प्रहरीले निर्मला हत्यासित सम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणको चाँडै टुंगो लगाउने बताएपछि प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो।
पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका तथा नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानीमा राख्न थालेको छ।नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरिएको बताए। उनले पुराना मिसिलको अध्ययन भइरहेको बताए।
अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको मुद्दा नटुंगिएका कारण उनीहरूमाथि थप अनुसन्धान गरिने कडायतले बताए। विसं २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या गरिएको थियो। उनको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो।