धनगढी, २८ भदौ/ कैलालीमा प्रहरी हिरासतमा युवक मृत फेला परेपछि न्यायको माग राख्दै स्थानीय आन्दोलित भएका छन्। शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत फेला परेका धनगढी उपमहानगरपालिका ५ का रोशन विकको हत्या गरिएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।
उनीहरूले न्यायको माग राख्दै आइतबार पनि जिल्ला प्रहरी कार्यालय गेट अगाडी विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले न्याय चाहियो भन्दै आन्दोलन थालेका हुन्।
‘प्रहरी तेरो पाराले दुःख पाए साराले, प्रहरी लापरबाही बन्द गर, के ज्यानको मूल्य छैन ? लगायतका प्लेकार्ड बोकी स्थानीय आन्दोलित भएका छन्। २२ गते डाँकिचोरी मुद्दामा प्रहरीले रोशन बिकलाई नियन्त्रणमा लिएको थियो।
तर त्यसको लगत्तै ४ दिनपछि बिक प्रहरी हिरासतमै मृत फेला परेका थिए। विकको आँखा, शरीरका विभिन्न भागमा निलडाँम तथा घाउ रहेको छ। विकले आफ्नै सर्ट खोलेर शौचालयमा आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ।
तर मृतकका परिवार तथा आफन्तले भने प्रहरी हिरासतमै कुटपिट पछि हत्या गरिएको आरोप लगाउँदै आएका छन्। उनीहरूले हिरासतमा कुटपिट गर्ने प्रहरी अधिकारी माथि कारबाहीको माग राखेका छन्।