धनगढी, २६ भदौ/ दिनेश सञ्चार गृहमा भएको आक्रमणको घटनाप्रति नेपाल प्रेस युनियन कैलालीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गर्दै पत्ररकामाथि भएको हातपातको घटनाप्रति भत्र्सना गरेको छ।
युनियन कैलालीका अध्यक्ष श्रवण देउवाले ‘यस्ता घटना प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभिप्रायबाट भएको भन्दै घट्नाको घोर भत्र्सना गरेका छन् । उनले भने ‘पत्रकारहरुको निर्भयता पूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हन्न हुने गरी भएको यो घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई युनियन जोडदार माग गर्दछु।’
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।