काठमाडौं-नेपाल फेन्सिङ संघले राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको छ ।विश्व फेन्सिङ दिवसको अवसरमा नेपाल फेन्सिङ संघको भर्चुअल मिटिङले विश्व फेन्सिङ दिवस मनाउनुको साथै राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले संघको कार्यलाई अझ विस्तार तथा परिमाणमुखी बनाउनका लागि र खेलाडीहरुको संघमा प्रतिनिधित्व गर्न एथलिट कमिशन गठन गर्ने निर्णय गरेको छ । हरेक वर्ष सेप्टेम्बरको दोस्रो हप्ताको शनिबार अन्तर्राष्ट्रिय फेन्सिङ महासंघको सदस्य राष्ट्रहरुमा विश्व फेन्सिङ दिवस मनाउदै आएको छ ।
यसै सिलसिलामा विश्वभर फैलिएको कोभिड १९ को महामारीका कारण नेपाल फेन्सिङ संघले यसवर्षको विश्व फेन्सिङ दिवस भर्चुअल रुपमा मनाएको छ । भर्चुअल सेलेब्रेसनमा संघका पदाधिकारीहरु, खेलाडीहरु, प्रशिक्षकहरु र खेल पत्रकारको सहभागिता रहेको थियो । संघका महासचिव सुजन लाल श्रेष्ठले विश्व फेन्सिङ दिवसको बारेमा जानकारी गराएका थिए ।
खेलाडीहरुको तर्फबाट अलिषा अधिकारीले शुभकामना प्रदान गर्दा खेल पत्रकारको तर्फबाट राम सुदन तिमल्सिना र राजु घिसिङले नेपाल फेन्सिङ संघले छोटो अवधिमा नै प्राप्त गरेको सफलताको चर्चा गर्दै आगामी दिनमा संघले फेन्सिङको विकास र विस्तारका लागि शुभकामना दिए । संघका सचिव अभिषेक कार्कीले खेलाडीहरुलाई सेल्प प्रशिक्षण र भिजुअल तयार पार्न अनुरोध गरे ।