एजेन्सी – इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट यसै साता डेब्यु गरेका मिडफिल्डरद्वय फिल फोडेन र मेसन ग्रिनवुड बाहिरका महिलालाई टिम होटेलमा ल्याएपछि कारवाहीमा परेका छन् ।
आइसल्याण्डविरुद्ध खेलमा पहिलो पटक सिनियर टोलीका लागि खेलेका ग्रिनवुड र फोडेनको कोठामा बाहिरकी महिला आएको भिडियो आइतबार सार्वजनिक भएको थियो । कोरोना संक्रमणका कारण टोलीमा सहभागी खेलाडी तथा टोलीका सदस्यले बाहिरका कसैलाई भेट्न नपाइने नियम रहेको छ । आफ्नै परिवारका सदस्य समेत होटेलमा आउन नपाइने नियम रहेको छ ।
आइसल्याण्डको स्थानीय मिडिया डिभीका अनुसार दुई महिलाले आफूलाई ग्रिनवुडले टिम होटेलमा बोलाएको भन्दै सामाजिक संजाल स्न्यापच्याटमा भिडियो हालेका थिए । त्यसपछि दुई खेलाडीसहित कोठाभित्रबाट नै अर्को भिडियो आएपछि दुवै खेलाडीलाई फुटबल संघले कारवाही गर्ने भएको छ ।
सोमबारको प्रशिक्षणमा फोडेन र ग्रिनवुड दुवै उपस्थित रहेका छैनन् । इंग्ल्यान्डले मंगलबार हुने खेलमा डेनमार्कको सामना गर्दैछ । दुवै खेलाडीले उक्त खेल त गुमाउने छन् नै, उनीहरुले एफएबाट थप अनुशासन कारवाहीका भोग्नुपर्नेछ । २० वर्षीय फोडेनले गत सिजन म्यानचेस्टर सिटीबाट उत्कृष्ट प्रदर्शन गर्दै सिनियर टोलीमा स्थान बनाएका थिए । फोडेन लामो समयदेखि आफ्नो प्रेमिकासँग बस्दै आएका छन् र उनको दुई वर्षको छोरा पनि छ । १८ वर्षीय ग्रिनवुडको भने केहि महिनाअघि मात्र प्रेमिकासँग बिछोड भएको थियो ।