बैतडी, २१ भदौ/ बैतडीका दुई महिने शिशु शिवांश अवस्थीलाइ कलेजो दान गर्ने बुवा महेश अवस्थीको वास्तविक जीवन कथामा आधारित अत्यन्तै मार्मिक गीत आइतबार “जिन्दगी” सार्वजनिक भएको छ ।
गायक निशान भट्टराईको समधुर आवाज रहेको गीतमा गायिका तथा संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन महाराज थापाले गरेका छन् । बैतडीस्थित रेडियो निङ्गलाशैनीका प्रबन्ध निर्देशक महेश अवस्थीका छोरा शिवांशको जन्मेको १४ औँ दिन देखि कलेजोमा खराबी आइ त्रिवि शिक्षण अस्पताल काठमाडौंको एक महिना बढी आइसियूको उपचार पछि निको नभएपछि भारतको चेन्नाइ रेफर गरिएको थियो ।
चेन्नाइको रेला अस्पतालमा भर्ना गरेपछि कलेजो खराब भइसकेको र प्रत्यारोपण गर्नुपर्ने भनेपछि बुवा अवस्थीले छोरालाइ कलेजो दान गरेर विभिन्न कठिनाइ पार गर्दै छोरा बचाएको समाचार निकै चर्चामा आएको थियो ।
घटनाको बारेमा थाहा पाएपछि नेपाली समाजलाई प्रेरणा दिने खालको वास्तविक घटना भएकोले गीत तयार पार्न गायिका सापकोटाले पहल तथा अगुवाइ गरेकी हुन ।
गायिका सापकोटाले भनिन् ‘महेश, गिता दम्पतीले सन्तान प्राप्तीको लागि गरेको सघंर्ष सम्झिदा निकै कहाली लाग्दो छ, सोहि वास्तविकतालाइ मैले आफै शब्द कोर्दै धुन भर्ने प्रयास गरेकी हुँ, समाजमा छोराछोरीप्रति धेरै बिकृतीहरु सुन्न हेर्न सकिन्छ तर आफनो कलेजो दिएर छोरा बचाउने बाबाको प्रेरणालाइ यो गीतबाट झल्काउन खोजेकी छु’ उनले थपिन ‘मैले यस्तो वास्तविक कथामा आधारित भावुक गीतमा पहिलो पटक छोटो समयमा शब्द, सगींत गर्न सफल भएकोमा खुसी पनि छु ।’
“जिन्दगी” गीतलाइ अहिलेका चर्चित निर्देशक युवराज वाइबाले छायांकन गरेका छन् । निर्देशक वाइबाले भने ‘कलेजो काटेर दिने ति महान पिताको वास्तविक घटनालाइ भिडियो मार्फत तपाइहरू माझ लिएका हौ, अहिले सम्म धेरै काम गरियो तर यो हाम्रो लागि फरक काम हो, सधै भरि पैसा मात्र पनि हेर्नु हुदैन भन्ने हिसावले अवस्थी परिवारलाइ थोरै भएपनि खुसी दिनको लागि हामी कलाकारहरूले कोरोनाको कहरको बेला विभिन्न चुनौती मोल्दै, निःशुल्क यो गित तयार पारेका हौं ।’
भिडियोमा निर्मल न्यौपाने र रेखा घिमिरेले निकै भावुक बनाउने अभिनय गरेका छन । “जिन्दगी” युट्युबमा राखेपछि आउने रोयल्टी शिवांश अवस्थीको उपचारमा खर्च गर्ने कलाकारहरूले बताएका छन । गायक भट्टराई भने ‘हामीले “जिन्दगी” गीतलाइ मेहेनत गरेर सकेसम्म राम्रो बनाउने प्रयास गरेका छौ, म आफै पनि स्टुडियोमा गाँउदा गाउदै निकै भावुक भए सबै दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा छ ।’
शिवांश उपचारमा सहयोग होस भन्ने हेतुले गीत बनाएको हुनाले सबै दर्शकहरुले हेरेर, शेयर गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।
दुई महिने छोरालाई कलेजो दान गर्ने महेशको जीवनमा आधारित “जिन्दगी” सार्वजनिक
दुई महिने छोरालाई कलेजो दान गर्ने महेशको जीवनमा आधारित “जिन्दगी” सार्वजनिक