धनगढी २० भदौ, भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोका शनिबार खोलिने भएका छन् ।
शनिबार राति १२ बजेदेखि आइतबारे बेलुकी ६ः४५ बजेसम्मको लागि धौलीगंगा बाँधको ढोका खोलिने पत्र मार्फत जानकारी प्राप्त भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिएका छन् ।
धौलीगंगा जलविद्युत् परियोजनाको ड्याम साइटमा बालुवा बगाउने (सिल्ट फ्लसिङ) को काम गर्ने भन्दै बाँधको ढोका खोल्न लागेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोल्नेबारे भारतीय प्रशासनले जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ ।
