एजेन्सी – युईएफए नेसन्स लिगको पहिलो खेलमा बलियो इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएको छ । इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो ।फिरेन्जीमा शुक्रबार राति भएको खेलमा बोस्नियाका कप्तान इडेन जेकोले गोल गर्दा इटलीका स्टेफानो सेन्सीले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
खेलको १२औं मिनेटमा इटलीले अग्रता लिने अवसर खेर फाल्यो । लोरेन्जो इन्सिग्नेको पासमा फेडरिको चेइसाको प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । बल पोजेसनमा इटलीले बलियो पकड बनाएपनि बोस्नियाको पोस्टमा गतिलो आक्रमण बुन्न सकेको थिएन ।
५३औं मिनेटमा अर्मिन हडजिकको प्रहार पोस्टमा लागेर बाहिरिदा बोस्नियाले खेलमा अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । उनको प्रहारले इटलीका गोलरक्षक जियानलुजी डोनररुम्मालाई बिट गरेपनि पोस्टमा लाग्दै बाहिरिन पुगेको थियो । लगत्तै दुई मिनेटपछि लोरेन्जो इन्सिग्नेको हेडरलाई बोस्नियाका डिफेन्डरले क्लियर गरिदिए ।
त्यसको दुई मिनेटपछि नै बोस्नियाले इटलीविरुद्ध अग्रता लिन सफल भयो । टोनी सन्जिकको पासमा अनमार्क रहेका कप्तान इडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाए । एक गोलले पछि परेपछि दवावमा रहेको इटलीले लगातार पोस्ट आक्रमण बुन्दै १० मिनेटमा नै बराबरी गोल फर्काउन सफल भयो । लोरेन्जो इन्सिग्नेको पासमा स्टेफानो सेन्सीले उत्कृष्ट फिनिस गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
७०औं मिनेटमा इटलीका गोलरक्षक डोनाररुम्माले अमिर गोजाकको प्रहारलाई विफल पारे । इन्ज्युरी समयमा बैकल्पिक खेलाडी मोहमद बेसिसले अवसर पाएपनि गोल गर्न नसक्दा बोस्निया जितबाट बञ्चित बन्यो ।यो नतिजापछि नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको बोस्निया १ अंक जोडेर दोस्रो तथा इटली पनि १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड ३ अंक जोडेर शीर्षस्थानमा तथा अंकविहीन पोल्यान्ड पुछारमा छ ।
