एजेन्सी – मुम्बई इन्डियन्सका प्रमुख तीव्र गतिका बलर लासिथ मलिङ्गाले सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आइपिएल गुमाउने भएका छन् ।
श्रीलंका टि२० का कप्तान समेत रहेका मलिङ्गाले व्यक्तिगत कारणले यस सिजनको आइपिएल नखेल्ने भएका हुन् । मलिङ्गाले नखेल्ने भएपछि मुम्बईले अष्ट्रेलियाका तीव्र गतिका बलर जेम्स प्याटिनसनलाई उनको स्थानमा भित्र्याएको छ । ३० वर्षिय प्याटिनसनले २१ टेष्ट, १५ ओडिआई र ४ टि२० आई खेलेका छन् ।
मलिङ्गाको बुबाको आगमी हप्ता शल्यक्रिया हुन लागेको छ । गतवर्ष मलिङ्गाले मुम्बईलाई चौथो आइपिएल उपाधि दिलाउन अन्तिम ओभरमा उत्कृष्ट प्रर्दशन गरेका थिए । अन्तिम ओभरमा चेन्नई सुपर किंग्सलाई ९ रन चाहिएको अवस्थामा मलिङ्गाले ७ रन दिदै १ रनको रोमाञ्चक जित दिलाएका थिए । मलिङ्गा आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । सन् २००९ देखि आइपिएल खेल्दै आएका मलिङ्गाले १ सय २२ खेलमा कुल १ सय ७० विकेट लिएका छन् ।
मुम्बईमा तीब्र गतिका बलरको रुपमा जस्प्रित बुमराह, धवन कुलकर्णी, ट्रेन्ट बोल्ट, मिचेल म्याक्लेनाघन, नाथन कुल्टर नाइल, अलराउन्डर हार्दिक पान्ड्या र वेस्टइन्डिजका काइरान पोलार्ड छन् । आइपिएल आगमी सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म यूएईमा हुँदै छ । मुम्बई आइपिएलमा सर्वाधिक चार पटक उपाधि जित्ने एक्लो टोली हो ।
