धनगढी, १७ भदौ/ कैलालीको मोहन्यालमा रहेको राष्ट्रिय वन क्षेत्रको खहरे खोलामा काठ चिरान गरिरहेको अवस्थामा भरुवा बन्धुक सहित २ जना पक्राउ परेका छन । महोन्यालको वडा नम्बर ६ मा पर्ने राष्ट्रिय वनको ठुलागडा र लदुवाथाईको बिचमा पर्ने खहरे खोलामा काठ चिरान भईरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको सव डिभिजन वन कार्यालय रामपुर बौनियाँको टोलीले बुधबार बिहान ६ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोन्याल ६ बादेगौडाका ४३ बर्षिया नैन बहादुर सिजालीमगर र लम्किचुहा ६ बागमाराका ३६ बर्षिया तुल बहादुर घर्तीमगर रहेका छन । यस्तै काठ चिरानमा संलग्न मान बहादुर घर्तिमगर र मोहन दर्लामी मगर फरार रहेको बताईएको छ । उनीहरुको साथबाट २ थान भरुवा बन्दुक, १४ फिटे ९ थान कडि, २ थान सालको गोलिया, २ थान बन्चरो र ३ थान चिरान आरा समेत बरामद गरेको सव डिभिजन वन कार्यलय रामपुर बौनियाँका प्रमुख कृष्ण बोहराले जानकारी दिएका छन ।
उनीहरुले आफुहरुलाई ८० रुपैयाँ फिटका दरले काठ चिरानको जिम्मा दिएको बताए पनि कस्ले दिएको हो भन्ने बिषयमा भने खुलाएका छैनन् । उनिहरुको बयान लिने काम भईरहेको र वन ऐन अनुसार कार्वाही गरिने बताईएको छ । बिगत एक दशक यता आमगैरा, खालिखुटी, ठुलागडा क्षेत्रमा व्यापक काठ तस्करी हुँदै आएको बताईएको छ ।