धनगढी, १३ भदौ/ कुटपिटबाट गम्भीर घाइते भएका भीमदत्त नगरपालिका ११ का एक जनाको १० महिनापछि मृत्यु भएको छ । भीनपा ११ भुजेलाका रमेश चुनाराको शनिबार कोलहपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
४३ वर्षिय चुनारालाई गत वर्ष कार्तिकमा स्थानीय धने सार्कीले लाठीले कुटपिट गरेका थिए । उनको कुटपिटबाट चुनाराको टाउकोमा गम्भीर चोट लागेको थियो । चुनाराको मृत्युपछि सार्कीलाई पक्राउ गरिएको छ । उनीमाथि कर्तव्य सम्बन्धि मुद्दामा अनुसन्धान सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले चुनाराको उपचारको क्रममा मृत्यु भएपछि सार्कीलाई पक्राउ गरिएको बताए । सार्की र चुनाराबीच मदिरा सेवनपछि झगडा भएको देखिएकाले थप अनुसन्धान सुरु गरिएको उनले बताए ।