धनगढी, ८ भदौ/दोधारा चाँदनीमाथि प्रहरीमाथि हातपात गरिएछि चार जना पक्राउ परेका छन् । माहाकाली नगरपालिका ८ देउरालीमा सोमबार विहान ११ बजे स्थानीय गणेश खत्रीलाई कुटपिट गरिएपछि सुन्दरनगर पुगेका प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दारमाथि हातपात गरेका हुन् ।
प्रहरी सहायक निरीक्षक दान सिह धामीले खत्रीसित कुटपिटको विषयमा सम्झाउन खोज्दा धामी सहित हवल्दार रमेशराज भारतीमाथि गरिएको हो । उनीहरुले प्रहरीको बर्दी च्याति दिएका छन् ।
इलाका प्रहरी कार्यालय दोधाराका इन्चार्ज प्रहरी निरीक्षक लाल बहादुर बमले सोधपुछका क्रममा प्रहरीलाई कुटपिट गरी बर्दी च्याति दिएको बताए ।
प्रहरीमाथि हातपात गरिएपछि स्थानीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनारलाई पक्राउ गरिएको छ । उनीहरु सबै १८ देखि २० वर्षसम्मका छन् ।
उनीहरुको कुटपिटबाट खत्री बेहोस छन् । प्रहरीले एम्बुलेन्स खोजेर खत्रीलाई उपचारका लागि धनगढी पठाएको छ । उनलाई कुटपिट गरी उनीहरु हिँडेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले प्रहरीमाथि हातपात भएपछि पक्राउ गरिएको बताए । असई धामीको नाकबाट रगत बगेको स्थानीय बताउँछन् ।
‘त्यहाँ शिव मन्दिर नजिक क्षेत्रमा स्थानीयमाथि कुटपिट भएपछि प्रहरी जानकारी भएर पछि त्यहाँ गएको हो, सम्झाउँदा प्रहरीमाथित हातपात भयो’ उनले भने,‘हातपात गर्ने केटाहरुसित खत्रीको झगडा भएको रहेछ ।’ प्रहरीले पक्राउ परेका चारै युवामाथि सार्वजनिक अपरापधको मुद्दा चलाउने प्रहरी नायब उपरीक्षक थापाले बताए ।