धनगढी, ५ भदौ/कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको प्रकरणमा लापरवाही गरेको भन्दै सेवाबाट बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र प्रहरी निरीक्षक (इन्सपेक्टर) जगदिशप्रसाद भट्टले जागिर पुनर्वहालीका लागि निवेदन दिएका छन्।
श्रोतका अनुसार दुवै जनाले मन्त्रिपरिषद् समक्ष निवेदन दिएका छन्। दुवै जनालाई कञ्चनपुर जिल्ला अदालतले गत साउन १५ गते सफाइ दिइसकेको छ। तर पनि अहिलेसम्म त्यसको कुनै सुनुवाइ नभएको भन्दै विष्ट र भट्टले उही पदमा पुनर्वहालीका लागि निवेदन दिएका हुन्।
यसअघि पनि सेवाबाट हटाउनासाथ दुवै जनाले जागिर पुनर्वहालीका लागि मन्त्रिपरिषद्मा निवेदन बुझाएका थिए। जिल्ला अदालत कञ्चनपुरले सफाइ दिने निर्णय गरेपछि अदालतले सफाइ दिएको प्रमाणसँगै एसपी विष्ट र इन्सपेक्टर भट्टले मन्त्रिपरिषद् समक्ष निवेदन पेश गरेको श्रोतले बतायो।
गृह मन्त्रालयले गठन गरेको सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको छानविन समितिको सिफारिसका आधारमा विष्टलाई २०७५ भदौ १० गते तथा भट्टलाई २०७५ भदौ ३१ गते निलम्बन गरिएको थियो।
दुवै जनालाई २०७५ कात्तिक ४ गते सफाइ पेस गर्ने मौका दिइएको थियो भने उनीहरुको जवाफ चित्तबुझ्दो नभएको भन्दै गृह मन्त्रालयले दुवै जनालाई भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी २०७५ कात्तिक ८ गते सेवाबाट हटाउने निर्णय गरेको हो।
सहसचिव मैनाली र तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको प्रतिवेदनका आधारमा समेत दुवै जनालाई सेवाबाट हटाउने निर्णय गरिएको थियो । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो। उनको शव त्यसको भोलिपल्ट उखु बारीमा भेटिएको थियो।