काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी नेकपा उपाध्यक्ष वामदेव गौतमले कार्यदल गठनप्रति लक्षित गर्दै नेतृत्वमा रहेका व्यक्ति असफल भएका हौँ भन्दै प्रश्न गरेका छन्। सोमबार सचिवालय बैठकमा उनले सचिवालयले सिर्जना गरेका समस्या सचिवालयबाटै निकास निकाल्नुपर्नेमा जोड दिएका हुन्। उनले कार्यदल सचिवालयभन्दा पनि माथि हो ? भन्दै प्रश्न गरेको एक नेताले बताए।
‘आफू सचिवालयले सिर्जना गरेका समस्या समधानका उपायहरू आफैंले पत्ता लगाउनुको सट्टा, अथवा आफू रहेको कमिटीबाट समाधान गर्न नसकी छुट्टै कार्यदल बनाउनु हामी नेतृत्वमा रहेका व्यक्ति ९नेतृत्वहरु० असफल भएकै हौ ?’,बैठकमा गौतमले प्रश्न गरेका थिए।‘सकेसम्म आफूद्वारा सिर्जित समस्या आफैं समाधान गर्नुपथ्र्यो भन्ने उहाँको आशय हो’, गौतमलाई उद्दृत गर्दै उनी निकट पत्रकार विश्वमणि सुवेदीले भने,‘कार्यदल प्रति कुनै विरोध वा असहमति होइन।’ बैठकमा उपाध्यक्ष गौतमले कसैको राजीनामा नमागेको बताए।
शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो। बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलपश्चात कार्यदल गठन भएको थियो। कार्यदलका सदस्यमा भीमबहादुर रावल, शङ्कर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्रप्रसाद पाण्डे छन्।
कार्यदलले दुई अध्यक्षको कार्यविभाजन, अधिकार बाँडफाँडदेखि एकता महाधिवेशनको कार्यतालिकाबारे सिफारिस गर्नेछ। कार्यदलले पार्टीको वैचारिक राजनीतिक बहस, आलोचना, आत्मआलोचना, मन्त्रिपरिषद् हेरफेर, विवादित नियुक्ति बदर, राजनीतिक नियुक्तिमा संस्थागत निर्णय, मुख्यमन्त्री हेरफेरलगायत समग्र विषयमा केन्द्रित रहेर छलफल गर्नेछ।
यस अघि पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै नेकपा उपाध्यक्ष गौतमले साउन १३ गते ६ बुँदे प्रस्ताव अगाडि सारेका थिए। गौतमले ओलीलाई एकता महाधिवेशनको अध्यक्ष र प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए। गौतमको प्रस्तावमा ओलीलाई प्रधानमन्त्री पदमा यथावत राख्ने भनिएको छ।
प्रस्तावमा पार्टीको एकता महाधिवेशन सहमतिमा आयोजना गर्ने, प्रधानमन्त्रीका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने कुरा उल्लेख गरिएको थियो।