बझाङ, ३२ साउन/ २६ साउनमा केदारस्युँ गाउँपालिका–७ भामचौरमा गहना र मोबाइल लुटिएको भनिएको घटना सार्वजनिक भयो । बिहान ३ बजे माइतीघरमा रहेका बेला शौच गर्न निस्किएकी भामचौरका सुरेश बोहराकी श्रीमती नारुलीलाई चामल छर्केरु बेहोस बनाई कानबाट आधा तोला बराबरका सुन र मोबाइल लुटियो भन्ने हल्ला भयो ।
यति मात्र होइन, उनको शिर र अनुहारभरि सिन्दुर तथा कालो मोसो दलिएको तस्वीरसमेत सार्वजनिक भयो । घटनाले जिल्लावासी र प्रहरीलाई समेत चकित बनायो ।
घटनाको पछिल्लो दिन प्रहरीले अनुसन्धान थाल्यो । अनुसन्धानका क्रममा पीडित नारुलीको बयान एकातिर घटना अर्कातिर देखिन थाल्यो । हुँदाहुँदा दिदीबहिनीकै कुरा बाझिन थाल्यो । फोन कसलाई, कहिले गरेको भनेर नारुलीलाई प्रहरीले सोध्दा उनले जुन मिति बताइन्, कल डिटेल्स बुझ्दा अर्कै मिति देखियो ।
यसले गर्दा सुन र मोबाइल लुटिएको भन्दा पनि लुटाएको भन्दै नारुलीमाथि शंका उब्जियो । यही उतारचढावकाबीच ३१ साउन राति नारुलीले श्रीमानसँग भनिन्, घरको छानाबाट केही आवाज आयो, के रहेछ हेर्नुस् त ? घरको छानामाथि हेर्दा कालो प्लास्टिकको झोलामा लुटिएको भनिएको सुन र मोबाइल भेटियो ।