काठमाडौँ, २८ साउन/लामो समयपछि नेपाल र भारतका अधिकारीहरुबीच आउँदो साता काठमाडौँमा वार्ता हुने भएको छ। लिपुलेक, कालापानी र लिम्पियाधुराको सीमा विवादका कारण दुवै देशबीच जारी बिबादका बीच नेपाल र भारतबीच अर्को साता आधिकारिक तहमा छलफल हुने भएको छ।
भारत सरकारले नेपालमा गर्दै आएको सहयोगमा सञ्चालित विभिन्न परियोजनाको मूल्यांकन गर्नका लागि अर्को साता काठमाडौँमा दुई देशका अधिकारीबीच छलफल हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौँमा हुने उक्त छलफलको नेपाली नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले तथा भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत वियनमोहन क्वात्राले गर्ने बताइएको छ। कोरोना भाइरसको महामारीका कारण उक्त बैठक भिडियो कन्फ्रेन्समार्फत हुने सम्भावना छ।
औपचारिक रुपमा घोषणा गर्न बाँकी उक्त बैठक आगामी भदौ २ गते हुने बताइएको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भारत सरकारद्वारा सञ्चालित परियोजनाहरुको मूल्यांकनका सम्बन्धमा नेपाल र भारतबीच छलफल हुन लागेको बताए। बैठकबारे निर्णय भने नभएको उनको भनाइ छ। भारतको सहयोगमा सञ्चालित परियोजनाहरुको मूल्यांकनका लागि सन् २०१६ मा संयुक्त समिति गठन गरिएको थियो। समितिको बैठक यसअघि सन् २०१९ को जुलाईमा भएको थियो।