धनगढी, २७ साउन- बैतडीमा महिला स्वास्थ्यकर्मीलाई कुटपिट गरी फरार रहेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पुर्चौडी नगरपालिका ३ का २४ वर्षीय मोहन कुँवर र २१ वर्षीय वीरेन्द्र कुँवरलाई प्रहरीले सोमबार अपराह्न नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका ती दुबैजनामाथि पुर्चौडीकै न्वादेउ स्वास्थ्य चौकी अन्तर्गतको नकाली नगर स्वास्थ्य केन्द्रमा कार्यरत २५ बर्षीया अनमी जानकी भट्ट र ३१ बर्षीया कार्यालय सहयोगी विमला कुँवरमाथि माथि कुटपिट गरेको आरोप रहेको छ।
ती दुबैजनालाई उनीहरूकै घरबाटै नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए। उनले भने, नियन्त्रणमा लिएका दुबैजनामाथि अनुसन्धान हुन्छ,आवश्यक देखिए मुद्धा चलाउँछौँ’।आइतबार स्वास्थ्य केन्द्रमै बिरामीको उपचार गरिरहेका बेला आफूमाथि ती युवकहरूले कुटपिट गरेको भन्दै जानकीले प्रहरीमा उजुरी दिएकी थिइन्। ती युवाहरूको कुटपिटबाट जानकीको हातको औला भाँचिएको,मुखमा छातीमा, टाउकोमा चोट रहेको छ।