धनगढी, २२ साउन
कोरोना संक्रमितहरुको उपचार गर्नका लागि धनगढी उप–महानगरपालिकाले प्रदेशमै नमुना आईसोलेशन बनाएको छ । धनगढीले महिला संक्रमितहरुका लागि छुट्टै १२ सैयाको आईसोलेशन बनाएर संचालनमा ल्याएको छ । पुरुष र अन्य संक्रमितका लागि वडा नं १५ मा ६८ सैयाको अलग्गै आईसोलेशन बनाएको छ । त्यसैगरी प्रदेशका ८८ वटै स्थानीयतहबाट उपचारका लागि धनगढी आउने गर्भवती, सुत्केरीकोलाई राख्नका लागि १० सैयाको होल्डिङ सेन्टर पनि बनाएको छ । महिला आईसोलेशन र होल्डिङ सेन्टर वडा नं १ मा संचालन गरेको छ ।

‘धनगढी उप–महानगरपालिकाकाले संचालनमा ल्याएको आइसोलशनमा आवश्यक सबै उपकरण, स्वास्थ्यकर्मीहरुको ब्यबस्था गरेका छौं’ प्रमुख नृपबहादुर वडले भने, ‘आवश्यकता अनुसार अझै ब्यबस्थीत बनाउदै लगिने छ ।’ धनगढी उप–महानगरपालिका प्रदेशकै हव हो नगरप्रमुख वडले भने, त्यसैले पनि आईसोलेशनमा आवश्यकता अनुसार बेडहरुको संख्या थप गर्दै लगिने छ ।
उप–महानगरपालिकाले महिला होल्डिङ्ग र आईसोलेशनमा बालबालिकाहरुका लागि खेलौना,खेलकुद सामाग्री, कितावहरुको पनि ब्यबस्था गरेको छ । त्यसैगरी महिलाका लागि आवश्यक पर्ने सेनेटरी प्याड लगायतको ब्यबस्थता गरिएको छ । आइसोलेशनको सुरक्षा महिला सुरक्षाकर्मीहरुबाट नै गर्ने ब्यबस्था मिलाईएको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले बताईन ।
धनगढी उप–महानगरपालिका स्वास्थ्य शाखा अधिकृत लक्ष्मीराज उपाध्यायले अहिले पुरुष आईसोलेशनमा १३ जना संक्रमितहरु रहेको बताए । त्यसैगरी महिला आईसोलेशनमा ८ जना रहेका छन् । धनगढी उप–महानगरपालिकामा १ सय २८ जना संक्रमितहरु घर फर्किसकेका छन् । यहाँ १ जनाको मृत्यू भएको छ भने २ जनालाई उपचारका लागि काठमाण्डौ पठाईएको छ ।
