धनगढी, २१ साउन
धनगढी उप–महानगरपालिका उप—प्रमुख तथा नगरस्तरीय उपभोक्ता हकहित संरक्षण समितिका संयोजक सुशीला मिश्र भट्टले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै खुला रहेका शैलुन पसल तत्काल बन्द गर्न आग्रह गरेकी छन् ।
संघ सरकारले सैलुन लगायत बढी जोखिम हुने ब्यावसाय बन्द गर्ने भन्ने निर्णय नै गरेको छ । तर संघ सरकारले गरेको निर्णय उल्लंघन गर्दै शैलुन पसल लगायत कतिपय क्षेत्रहरु खुला थिए ।
उप–प्रमुख भट्टले सुदूरपश्चिम प्रदेश नाई संघका अध्यक्ष सुबोध ठाकुरलाई बोलाएर बुधवार शैलुन पसल खुला गरिदा त्यसले निम्त्याउन सक्ने जोखिमका बिषयमा छलफल गरेको बताईन । लकडाउनले ब्यावसायीक क्षेत्र प्रभावित भएको बताउदै उप–प्रमुख भट्टले भनिन्, सरकारले गरेका निर्णयहरु कोरोनाको संक्रमण बढ्न नदिनका लागि भएका हुन । उप–प्रमुख भट्टले सुदूरपश्चिम प्रदेश नाई संघका अध्यक्ष ठाकुरलाई संघ सरकारले गरेको निर्णयका बारेमा पनि जानकारी गराउदै शैलुन पसल बन्द गर्न आग्रह गरिन ।

सुदूरपश्चिम प्रदेश नाई संघका अध्यक्ष सुबोध ठाकुरले लामो समय सम्म भएको लकडाउनका कारण कर्मचारी पाल्न र छाक टार्न समस्या भएकाले शैलुन पसल खोल्नु परेको बताए । कोरोना सर्न नदिन अपनाउनुपर्ने सबै सजकता अपनाएर सेवा दिईरहेको प्रदेश अध्यक्ष ठाकुरले बताए । उनले भने, शैलुन जस्तै ब्यूटीपार्लर, स्वीमिङ्गपुलहरु लगायत जोखिम हुने सबै ब्यावसाय बन्द हुनुपर्छ ।
